गौरादह, १९ बैशाख
गौरादह नगरपालिकाले मातृ मृत्युलाई शून्य बनाउन शुरु गरेको निशुल्क एम्बुलेन्स सेवा प्रभावकारी देखिएको छ । नगरपालिकाले कोशी प्रदेशका अस्पताल सम्म पुग्नका लागि गर्भवति महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । २०७९ मा गौरादह नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले गर्भवति महिलाहरुलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने निर्णय गरेको थियो ।
गौरादह नगरपालिकाको स्वास्थ्य शाखाका संहसंयोजक गोविन्द श्रेष्ठका अनुसार गर्भवति महिलाहरुलाई अस्पताल सम्म पुर्याउनका लागि यो सेवा शुरु गरिएको थियो । गौरादह नगर अस्पताल, दमकमा रहेका अस्पताल, विराटनगर र धरानका अस्पतालमा समेत यो सेवा दिइएको उनले बताए ।
गौरादह नगरपालिकाका ९ वटै वडाका २ सय १९ जना गर्भवति महिलाहरुले निशुल्क एम्बुलेन्स प्रयोग गरेका छन् । यो २०८२ साल साउन देखि चैत सम्मको तथ्यांक हो । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले गर्भवति महिलालाई एम्बुलेन्स सेवा र नगर अस्पतालको स्तर उन्नति सँगै मातृ मृत्युको दर शुन्य भएको दाबी गरे । गौरादह नगरपालिकाको नगर अस्पतालमा बर्थिङ सेन्टर रहेको छ । यस्तै जटिल प्रकृतिको प्रसूति सेवाका लागि अन्यत्र समेत लैजानका लागि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।