दमक, १ असाेज
झापाको दमक–८ स्थित अर्गानिक सब्जी मण्डीको खाली रहेको भवनमा अस्थायी प्रहरी कार्यालय राख्ने टुंगो भएको छ । दमकका जनप्रतिनिधि, कोशी प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख लगायतको टोलीले दमक ८ को अर्गानिक सब्जी मण्डीमा अवलोकनपछि अस्याथी प्रहरी कार्यालय राख्ने सहमति भएको हो ।
आज साँझ नेपाल प्रहरीका कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्वू, दमक नगरपालिकाका नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भटराई प्रसाई र इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी राम प्रसाद तिम्सिना, दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतको टोलीले छलफलबाट टुंगो लगाएको दमक ८ का वडा अध्यक्ष तथा नगर पालिकाको प्रवक्ता दिपेश दाहालले बताए ।
अर्गानिक सब्जी मण्डीको भवनमा केही पूर्वाधारको तयारी र केही ब्यवस्थापकीय काम शुरु गरेर छिटो दमक नगरवासीलाई शान्ति सुरक्षा दिने डिआइजी कार्कीले बताए । गत भदौं २३ र २४ गते जेनजी समुहको आगजानी र तोडफोडबाट इलाका प्रहरी कार्यालय दमक भवन ध्वस्त भएको थियो ।
