मेची सहकारीद्वारा निर्मित मेची आवास हस्तान्तरण

सेयर गर्नुहोस्

दमक, १० चैत
झापाको दमक ४ मा मेची बहुद्देशिय सहकारी संस्थाले निर्माण गरेको एकिकृत सहकारी बस्ती आज हस्तान्तरण गरिएको छ । संस्थाले सदस्यहरुका लागि ५७ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरुलाई घर हस्तान्तरण गरेका थिए । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सहकारीमार्फत समृद्धि बनाउन सकिने बताएका छन् । दमकको मेची बहुउद्देश्यीय सहकारी संस्थाले दमक ४ मा निर्माण गरेको मेची आवास कार्यक्रम अन्तर्गत नवनिर्मीत घरको शुक्रवार यहाँ साचो हस्तान्तरण गदैं उनले सामूहिकता नै सहकारी भएकाले यसको माध्यमबाट धेरै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने जोड दिए ।
मेची सहकारीले घर नभएका आफना सदस्यलाई सहुलियत ढंगले घर दिएको चर्चा गदै उनले यसरीनै सवै सहकारीले उत्पादनमूलक तथा रोजगारीका क्षेत्रमा काम गर्न जरुरी भएको औल्याए ।
तुलसी सहकारीका पीडितहरुको डेलिगेशन समेत आफूसँग आएको बताउँदै उनले सर्वसाधारणलाई ठगी गर्न खोलेका सहकारी र वास्तविक रुपमानै सहकारीताको अभ्यास गरिरहेका सहकारीहरुको पहिचान गरेर मात्रै कारोबार गर्न सुझाव दिए ।
त्यस अवसरमा उनले आवास क्षेत्रका लागि सशुल्क रुपमा जग्गा उपलब्ध गराउने तुलसा गौतमलाई सम्मान तथा बसोबासका लागि घर जग्गा खरिद गर्ने रेखा बुढाथोकी र बिमला कटुवाललाई जग्गा धनी दर्ताको प्रमाण पुर्जा समेत हस्तान्तरण गरे । साथै उनले जग्गाधनीसंगै भवन निर्माणमा योगदान पुरयाँउने निर्माण समिति, प्राविधिक तथा निर्माण कम्पन्नीलाई समेत कदर पत्र प्रदान गरेका थिए ।
सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेका अनुसार संस्थाले १ विगाहा १८ कठ्ठा जमीनमा एकै किसिमका ५७ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको हो । ती घर निर्माण गर्न रु २२ करोड ८३ लाख खर्च भएको जनाईएको छ ।
ती घर रु ४३ लाखदेखि रु ५१ लाखसम्ममा विक्री भएको र खुल्ला क्षेत्र ११ कठ्ठा राखिएको कार्यकारी प्रमुख बगालेले बताए । घर नभएका सदस्यलाई घरको मालिक बनाउने उद्देश्यले देशमै पहिलोपटक यस सहकारीले आवास गृह निर्माण गरिएको उनको भनाई छ ।
२०५४ सालमा स्थापित यस सहकारीले यसअघि १७५ जना जिविकोपार्जनका लागि रिक्साको मालिक , २५० जनालाई स्वरोजगार, ८० जना मजदुरलाई सिटी सफारी मालिक, ३०० बढी घरविहीन सदस्यलाई जग्गाको मालिक, २५ जना विद्यार्थीलाई अध्यापन गराउदै आएको छ भने ९४ जनाले प्रत्यक्ष रोजगारी र करिव १७ सय जनाले अप्रत्यक्ष रोजगारी पाउदै आएको संस्थाले जनाएको छ ।
सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामचन्द्र उप्रेतीलगायत सहकारी अभियन्ताहरुले सहकारीमा देखिएका बिद्यमान समस्याहरु, सहकारी आन्दोलन र सदस्यहरुको भुमिका लगायतका बिबिध बिषयमा जानकारीमूलक प्रशिक्षण समेत दिएको संस्थाले जनाएको छ ।