इलाममा मतपेटिका संकलन धमाधम, तालजालि भित्र गणना

सेयर गर्नुहोस्

इलाम, १५ बैशाख
इलाम क्षेत्र २ को मतदान भर्खरै सकिएको छ । आजै राति मतगणना गर्नेगरी गणनास्थल तयार गरिएको छ । 

मतगणनाका लागि इलाम बजारको सिटीहल तयार गरिएको हो । सिटीहलको एक कोठामा तारजारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्नेगरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार गणनास्थलमा ११ सिसी क्यामेरा जडान गरिएको छ ।

उनका अनुसार आज राति १० बजेसम्ममा सबैतिरको मतपेटिका गणनास्थल ल्याइसक्ने योजना छ । ‘मतगणना चाहिँ निर्वाचन आयोगले मतपेटिका संकलन भइसक्नेबित्तिकै गर्नू भन्ने निर्देशन छ,’ उनले भने, ‘तर, सर्वदलीय बैठकको निर्णयअनुसार गर्ने सहमति भएको छ ।’ मतगणना सम्भवतः आजै राति सुरु हुने अनुमान छ । 

मतदान सम्पन्न भएपछि मतपेटिका सिल लगाउने र कपडाले बेर्ने, मतपेटिका बोक्ने गाडीमा प्रहरी सुरक्षाकर्मी र मतदान अधिकृत बस्ने, मतपेटिका बोक्ने गाडी सँगसँगै निश्चित सहमतिको दूरीमा राजनीतिक दल÷उम्मेदवारका प्रतिनिधि सँगै आउने र मतपेटिका भण्डारण सुरक्षा निकाय तथा सबै राजनीतिक दलको सहमतिमा गर्ने निर्णय जिल्लाका सरोकारवालाको बैठकले गरेको थियो । 

आज बिहान ७ बजेदेखि यो क्षेत्रका ७९ मतदानस्थलका एक सय ४९ वटै केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भइसकेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सबै केन्द्रका मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर गणना सुरु गरिने जानकारी दिए । 

उपनिर्वाचनमा करिब ५७ प्रतिशतले मतदान गरेको अनुमान छ ।