इलाम, १५ बैशाख
इलाम क्षेत्र २ को मतगणनाको नतिजा इलाम चोक बजारको डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ ।
सम्भवतः भरे राति र भोलिसम्ममा सुरु हुने मतगणनाको एक–एक घन्टामा नतिजा सार्वजनिक गर्ने सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मतगणनाको नतिजा मतगणनास्थलमा घोषणा गर्ने र त्यसको अंक डिस्प्लेमा सार्वजनिक गर्ने तयारी भएको हो । ‘गणनास्थलको भिड घटाउन र धेरैभन्दा धेरैलाई एकैपटक मतगणनाको नतिजा देखाउन डिस्प्लेमा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘तर, प्राविधिक व्यवस्थापन मिलाउन बाँकी छ ।’
मतगणनाका लागि इलाम बजारको सिटीहल तयार गरिएको हो । सिटीहलको एक कोठामा तारजारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने, प्रतिनिधि बाहिरै बस्नेगरी गणनास्थल तयार गरिएको छ ।