बिर्तामाेड कार्तिक ६ सम्म बन्द, सचेत रहन नगरपालिकाकाे अपील

सेयर गर्नुहोस्

झापा, असाेज ३०
झापाको बिर्तामोड नगरपालिकाको कार्यालय कात्तिक ६ गतेसम्म बन्द हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएको कारण बिर्तामोड नगरपालिकाले कार्यालयबाट प्रदान गरिदैँ आएका सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख धु्रवकुमार शिवाकोटीले बताए ।
‘नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका काम बन्द गरेका छौँ’ प्रमुख शिवाकोटीले भने, ‘एम्बुलेन्स, दमकल जस्ता सेवा भने चालु रहने छ ।’ त्यस्तै, बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवा समेत बन्द गर्ने निर्णय नगरले गरेको छ । बिर्तामोड बजार भने खुल्ला रहने छ । किनमेलको क्रममा सुरक्षित र व्यवस्थित तरिकाले भौतिक दूरी कायम गरीसेवा प्रदान गर्नुपर्ने नगरको निर्णय छ । दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुनसक्ने भएकोले भिडभाड नहुने गरी आ–आफ्नाे परिवार भित्र नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुनेकार्य नगर्ने नगरको आग्रह छ ।

नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तनजको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्ने निर्णय नगरको रहेको छ । टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई आफ्नै घर भित्र मात्र सिमित राख्नु पर्ने जनाइएको छ । टीकाग्रहण गर्दा जेष्ठ नागरिक, बिरामी र बालबालिकालाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेललगायत कार्य नर्गन राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय गरेको छ ।