दश दिनमा एकै वडाका पाँच संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

झापा, बैशाख ३१
मेचीनगरको एउटै वडाका कोरोनाकै कारण दश दिनमा लगातार पाँच जनाको मृत्यु भएको छ ।मेचीनगर–६ स्थित काँकरभिट्टाका तीन जना पुरुष र दुई जना महिलाको कोरोनाकै कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा भानु टोलका ६० वर्षीय पुरुष, वमेर्ली टोलकी ५८ वर्षीया महिला, भट्टराई चोकका ४८ वर्षीय पुरुष, रमाईलो गाउँका ५६ वर्षीय पुरुष र शान्ति गाउँकी ४३ वर्षीया महिला रहेका छन् । यहि वैशाख २२ गतेदेखि ३१ गतेसम्म लगातार ५ जनाको मृत्यु भएको हो ।

त्यसमध्ये २ जनाको मेची अस्पताल भद्रपुर, एक जनाको विराटनगर स्थित नोवेल मेडिकल कलेज, एक जनाको बिर्तासिटी अस्पताल बिर्तामोड र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको थियो । गतवर्ष कोरोना भाइरसका कारण काँकरभिट्टा स्थित भानु टोलकी ७६ वर्षीया महिलाको मृत्यु भएको थियो । मेचीनगरमा यहि हप्ताभित्र थप २ जनाको समेत मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना धुलाबारीका एक महिला र एकजना पुरुष छन् । मेचीनगरमा कोरोनाको दोस्रो लहरको संक्रमणबाट ७ जनाको ज्यान गईसकेको छ । विहीबार सम्मको संक्रमितको संख्या मेचीनगरमा २४४ पुगेको छ ।

मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले जोकोहि वडाबासी विरामी परे तत्काल खवर गर्न आग्रह गरेका छन् । ‘घरबाट बाहिर ननिस्कनुहोस्’, वडाध्यक्ष तामाङले भने–‘अत्यावश्यक सामाग्री चाहिए हामीलाई खवर गर्नुहोस् तुरुन्त घरमा नै पठाईदिन्छौँ । तर घर बाहिर कृपया ननिस्कनु होला ।’ (लाेकतन्त्र पाेष्ट)