झापा, २३ साउन
झापामा साउन महिनामा पानीमा डुबेर ६ जनाको मृत्यु भएको छ । यो आज साउन २३ गते सम्मको तथ्यांक हो ।
चालु आर्थिक वर्षको साउन महिना पूरा नहुदै ६ जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान अन्दाजी ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा न१० र ७ को सिमाना टेक्रास्थित माईखोलामा डुबेर कन्काई नगरपालिका वडा न ५ बस्ने ६० वर्षीय चन्द्रबहादुर बि.क. बेपत्ता भएका छन् । खोलाबाट दाउरा निकाल्ने क्रममा उनलाई खोलाले बगाई बेपत्ता बनाएको हो ।
अस्थाई प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएर स्थानीयहरुको सहयोगमा खोजतलास गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । गत आर्थिक वर्षमा पानीमा डुबेर झापाका ३६ जनाले ज्यान गुमाएका थिए ।
