टेस्ला र स्पेस एक्स कम्पनीका प्रमुख एलन मस्कको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटफर्म एक्सले नयाँ मेसेजिङ सेवा एक्स च्याट सार्वजनिक गरेको छ।

हालका लागि एक्स च्याट बिटा संस्करणमा परीक्षणको चरणमा रहेको मस्कले आइतबार एक सोसल मिडिया पोष्टमार्फत जानकारी दिएका छन् ।

मस्कले आफ्नो एक्स अकाउन्टमा लेखेका छन् : नयाँ एक्स च्याट सुरुआत भइरहेको छ । यसमा इनक्रिप्सन, आफैं मेसेज डिलिट हुने फिचर तथा फाइल पठाउने सुविधा पनि उपलब्ध हुनेछ।

बिटक्वाइन जस्तै इनक्रिप्सन

एलन मस्कका अनुसार, एक्स च्याटमा बिटक्वाइन जस्तै इनक्रिप्सन प्रणाली अपनाइएको छ । यो नितान्त नयाँ प्राविधिक संरचनामा आधारित रहेको उनको भनाइ छ ।

एक्स च्याटले एन्ड-टु-एन्ड इनक्रिप्सन प्रयोग गर्छ । यसको अर्थ एक्स च्याटमा पठाइने मेसेज केवल पठाउने र प्राप्त गर्ने व्यक्तिले मात्र पढ्न सक्छन् र बीचमा कुनै पनि तेस्रो पक्षले मेसेज डिकोड गर्न सक्दैन ।

एक्स च्याट प्रयोगकर्ताले अडियो तथा भिडियो कल पनि गर्न सक्नेछन् र यसका लागि मोबाइल नम्बर जोड्नुपर्ने आवश्यकता पनि पर्नेछैन ।

ह्वाट्सएपसँग प्रतिस्पर्धा

एक्सच्याटमा मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा जस्तै सबै प्रमुख विशेषता उपलब्ध छन् । जसमा सुरक्षित मेसेजिङ, फाइल ट्रान्सफर तथा आफैं मेटिने म्यासेज समेत रहेको छ ।

ह्वाट्सएप प्रयोग गर्न मोबाइल नम्बर अनिवार्य हुनेमा एक्स च्याटमा मोबाइल फोन बिनै सबै सुविधा प्रयोग गर्न सकिने भएकाले एक्स च्याटले ह्वाट्सएपलाई टक्कर दिने अपेक्षा गरिएको छ ।

प्रविधि समाचार साइट टेक क्रन्चका अनुसार एक्स च्याट अहिले केही सीमित प्रयोगकर्ताहरूबीच परीक्षण भइरहेको छ ।

कम्पनीले यो सेवा आम प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुन्छ भन्नेबारेमा भने कुनै आधिकारिक घोषणा गरेको छैन।

एन्ड-टु-एन्ड इनक्रिप्सन के हो ?

एन्ड(टु(एन्ड इनक्रिप्सन एउटा सुरक्षा प्रविधि हो जसले म्यासेजलाई केवल पठाउने र प्राप्त गर्ने पक्षबीच मात्र पढ्न मिल्ने बनाउँछ। म्यासेज प्रेषकको फोनमा इनक्रिप्ट भई इन्टरनेटमार्फत रिसिभरको फोनमा पुगेर मात्र डिक्रिप्ट हुन्छ।

यो प्रविधि ह्वाट्सएप सिग्नल तथा टेलिग्रामजस्ता मेसेजिङ प्लाटफर्महरूमा पनि प्रयोग हुँदै आएको छ ।

-एजेन्सीको सहयोगमा