जन्ते बाख्रो’को काठमाडौं प्रिमियर

काठमाडौं । ग्रामीण परिवेशमा आधारित प्रेम र हास्य कथावस्तुको फिल्म ‘जन्ते बाख्रो’लाई बुधबार प्रिमियर गरिएको छ । क्यूएफएक्सको सेन्ट्रल सिनेमामा आयोजित समारोहमा सेलिब्रेटीको बाक्लो उपस्थिती रह्यो ।

कलाकार सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मा, कुसुम शर्मा, लोकेन्द्र लेखक, रुषा न्यौपाने, समापिका गौतम प्रिमियरमा देखिए । ‘हिमालय रोडिज’ फेम्ड सिमोस सुनुवार निर्देशित यो फिल्म शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

फिल्मले समग्रमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । अभिनेत्री वर्षा राउतले रमाइलो कथालाई पर्दामा हेर्न पाएको बताइन् । उनले भनिन्, ‘म धेरैपछि हलभित्र निकै हाँसेकी छु । आसिफ दाई (आसिफ शाह)लाई पर्दामा देख्न पाउँदा खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्म भन्दा भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’

फिल्म हेर्न उनका पति समेत रहेका कलाकार तथा कन्टेन्ट क्रिएटर संजोग कोइराला पनि पुगेका थिए । नयाँ पुस्तालाई यो फिल्मले परम्परा बुझाउने र मनोरञ्जन दिने बताए । उनले भने, ‘तपार्इंलाई ट्रेलरले आकर्षित गरेको छ भने सिनेमा हेर्न आउनूस, इन्जोय गर्नुहुने छ । ग्रामीण सौन्दर्य र सामाजिक सद्भावसँगै परम्परा जोडिएको सिनेमाले हामीले पूर्ण मनोरञ्जन दिन्छ ।’

कमेडियन सन्दीप क्षेत्रीले फिल्म निर्माण कै प्रक्रियामा आफूले पटकथाको बारेमा जानकारी पाएको बताए । सिनेमा हेरेर निस्किँदा पटकथालाई रमाइलोसँग पर्दामा प्रस्तुत गरिएको उनको भनाइ छ ।

गायक महेश काफ्लेले फिल्मले मानिसमा देखिने सम्पूर्ण भावलाई बोकेको बताए । ‘यसको कथा सरर बगेको छ, हेरुन्जेल हाम्रो मुहारमा हाँसो ल्याउँछ । लाइट कमेडीले दर्शकलाई आनन्दित बनाउँछ । मैले इन्जोय गरँे’, गायक काफ्लेले भने ।

अतिथिबाट ‘मनोरञ्जनको प्याकेज’ भन्ने प्रतिक्रिया पाएपछि अभिनेत्री गरिमा शर्माले आफूमा उत्साह बढेको बताइन । ‘प्रिमियरमा सबै सिनेमा बुझेका मान्छे आउनु भएको छ । यहाँ हामीले रमाइलो सिनेमा बनेको, होल्ड भएको, कहिँकतै दिग्दार नलागेको प्रतिकिया पाएका छौँ । यो हाम्रो टिमका लागि उत्साहजनक प्रतिक्रिया हो’ उनले भनिने, ‘हामीले पहिलो दर्शकलाई खुसी बनाउन सफल भएका छौँ, रेगुलर शोबाट पनि यस्तै प्रतिक्रिया पाउने अपेक्षा राखेकी छु ।’

पहिलो पटक मुख्य भूमिका अभिनय गरेकी शर्माले उत्साह र डरको सम्मिश्रण भएकाले यो भावनालाई शब्दमा व्यक्त गर्न नसकिने बताइन । ‘पहिलोपटक कथा नै बोकेको पात्रलाई निर्वाह गरेकी छु । सिनेमा मैले निर्वाह गरेको सम्झना पात्रकै वरिपरी घुम्छ’, उनले भनिन् ।

अभिनेता सौगात मल्लले सार्वजनिक प्रदर्शनपछि आउने प्रतिक्रियाको पर्खाइमा आफू रहेको बताए । ‘हामीले राम्रो काम गरेका छौँ भन्ने लागेको छ, प्रतिक्रिया त्यस्तै पाएको छु । अघिल्ला सिनेमाभन्दा यसमा म केही भिन्न देखिएजस्तो लागेको छ । दर्शकले रुचाउनुहुन्छ भन्नेमा आशावादी छु’, उनले भने ।

निर्माता सन्तोष गौतमले आफूले निर्माताको रुपमा कुनै सम्झौता नगरेको बताए । परिवारका सबै सदस्य एकसाथ हलमा आउन मिल्ने गरी विषयवस्तु समेटेर फिल्म बनेको बताए । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । २३ जेठदेखि यो फिल्म प्रदर्शन तयारीमा छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top