झापा, १२ जेठ
झापाको कमल गाउँपालकालाई आज “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कमल गाउँपालिकाका सातै वडामा सफलतापूर्वक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकोले पनि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सम्भव भएको हो । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्म ल्याउन योगदान गर्ने वडा कार्यालय, ८ वटा स्वास्थ्य संस्था तथा २४ जना महिला स्वास्थ्यस्वयम सेविकालाई प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।
घोषणा कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले स्वस्थ्य, सुरक्षित र समुन्नत कमल निर्माणका लागि हामी सबैको सहभागिता अपरिहार्य भएको बताइन् । उनले
कमल वासी सबैको सक्रियता, दूरदृष्टि र स्वास्थ्य क्षेत्रप्रतिको विशेष प्रतिबद्धताका कारण कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता अभियान सफल भएको छ । कमल गाउँपालिकाका सातै वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेको अवस्था स्वयंमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको दाबी उनले गरिन् ।
यो उपलब्धिले आगामी दिनमा गाउँपालिकालाई बालमैत्री, सुरक्षित र स्वस्थ समाज निर्माणतर्फ थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले जनाए । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका खोप कार्यक्रम फोकल पर्सन, राज कुमार पोख्रेल प्रदेश तहका प्रतिनिधिहरू, विभिन्न स्वास्थ्य निकायका पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
