बजार ‘साइडवेज’ मा चल्दा पनि नाफा दिएका २ कम्पनी

छिल्लो समय सेयर बजार २७०० देखि २८०० विन्दुबीचमै रहेर तलमाथि गरिरहेको छ।

प्रवृत्ति स्पष्ट नहुँदा लगानीकर्ताहरूमा बजारमा कारोबार गर्ने उत्साह बढ्न सकिरहेको छैन। दैनिक कारोबार रकम २ देखि ६ अर्ब रूपैयाँ हाराहारी छ।

यस्तोमा पनि केही कम्पनीमा लगानीकर्ताले राम्रै लाभ पाइरहेका छन्।

गत वैशाख ३० गतेयता नेप्सेले मात्रै ३७ अंक जोडेको छ। २७४० मा रहेको नेप्से २७७७ विन्दुमा आइपुगेको छ।

यही अवधिमा दुई कम्पनीको मूल्य भने १२ देखि २५ प्रतिशतले वृद्धि भएको छ।

यी कम्पनी हुन्, माबिलुङ इनर्जी र बुंगल हाइड्रो कम्पनी।

हामीले गत साता (सोमबारदेखि शुक्रबारसम्म) सबभन्दा धेरै मूल्य बढेको आधारमा यी दुई कम्पनीको चर्चा गर्न लागेका हौं। यी कम्पनीको सेयर मूल्य गत साता भने १६ देखि ३९ प्रतिशतसम्म बढेको थियो।

मंगलबारसम्म भने मूल्यमा केही गिरावट आएको छ।

वैशाख ३० गते ६५४ रूपैयाँमा कारोबार भइरहेको माबिलुङ इनर्जी यो मंगलबारसम्म १२.९९ प्रतिशतले बढेर ७३९ रूपैयाँमा कारोबार भएको छ। गत शुक्रबार भने यो ७६० रूपैयाँमा कारोबार भइरहेको थियो।

Ncell
केही महिनाअघि मात्रै कारोबारमा आएको माबिलुङको सेयर मूल्य यो अवधिमा ८९० रूपैयाँसम्म पुगेको थियो। ६२० रूपैयाँसम्म पुगेर मूल्य फर्कने प्रयास गरिरहेको छ।

मंगलबार भने मूल्य ६ रूपैयाँले घटेर ७३९ रूपैयाँमा अन्तिम कारोबार भयो।

४.९५ मेगावाटको अप्पर पिलुवा खोला ३ आयोजना सञ्चालन गरिरहेको यसले चैतसम्म पाँच करोड ७५ लाख रूपैयाँको विद्युत बिक्री गरेको थियो। गत असोजबाट यसको आयोजना सञ्चालनमा आएको हो।

यो अवधिमा माबिलुङ ८४ लाख रूपैयाँ नोक्सानमा छ। यसको सञ्चित नोक्सान भने छैन। हाल यसको प्रतिसेयर आम्दानी ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ भने मात्रै १०१ रूपैयाँ छ।

यसमा एसियन लाइफ इन्स्योरेन्स र गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स मुख्य लगानीकर्ता छन्।

यसको लगानीकर्तालाई वार्षिक प्रतिफल दर (इक्विटी आइआरआर) ३.७१ प्रतिशत छ। मूल्य वृद्धि लगायतको समायोजनपछि लगानीकर्तालाई लगानी फिर्ता गर्न सक्ने अवधि (डिस्काउन्टेड पे ब्याक अवधि) १७ वर्षभन्दा धेरै छ।

माबिलुङको सेयरमा गत बिहीबार र शुक्रबार इन्गल्फिङ बुलिस आकृति बनेको थियो। यसले मूल्य बढ्ने संकेत गरिरहेको थियो। इन्गल्फिङ बुलिसको संकेत दरिलो भने हुँदैन, यसलाई मध्यम (मोडरेट) संकेत मानिन्छ।

सोमबार र मंगलबार भने दुवै दिन मूल्य घटे पनि साना साना दोजी आकृति बनेका छन्। यसले मूल्य प्रति लगानीकर्ताहरूमा अनिश्चय रहेको संकेत गर्छ।

वैशाख ३० गते ५८२ रूपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको बुंगल हाइड्रो यो मंगलबारसम्म २५.७७ प्रतिशतले बढेर ७३२ रूपैयाँमा कारोबार भएको छ। गत शुक्रबार भने यो ८१४ रूपैयाँमा कारोबार भइरहेको थियो।

केही महिनाअघि मात्रै कारोबारमा आएको बुंगल हाइड्रोको सेयर शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। सोमबार मूल्य घटे पनि आइतबार दुई रूपैयाँले मूल्य बढेर ७३२ रूपैयाँमा कारोबार भएको छ।

१०.७० मेगावाटको अप्पर सानी गाड हाइडोइलेक्ट्रिक प्रोजेक्ट सञ्चालन गरिरहेको यसले चैतसम्ममा विद्युत बिक्रीबाट २३ करोड रूपैयाँ आम्दानी गरेको छ।

ऋण लगायतका कारण चैतमा यसको वित्तीय खर्च ११ करोड रूपैयाँ छ। यही कारण बुंगल यो अवधिमा ४८ लाख रूपैयाँ नोक्सानमा छ। यसको १२ करोड ७१ लाख रूपैयाँ सञ्चित नोक्सान छ।

प्रतिसेयर आम्दानी ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ८४ रूपैयाँ ६८ पैसा छ।

यसमा जलान्जली इनभेस्टमेन्ट, बुंगल हाइड्रो इन्भेस्टमेन्ट र शिव शंकर इन्भेस्टमेन्ट मुख्य लगानीकर्ता छन्।

यसको ऋण र लगानी सम्पूर्णलाई वार्षिक प्रतिफल दर (आइआरआर) ८.७४ प्रतिशत छ। मूल्य वृद्धि लगायतको समायोजनपछि लगानीकर्तालाई लगानी फिर्ता गर्न सक्ने अवधि (डिस्काउन्टेड पे ब्याक अवधि) २२ वर्षभन्दा धेरै छ।

बुंगलको सेयरमा शुक्रबार र सोमबार हरामी बियरिस आकृति बनेको थियो। यसले मूल्य घट्ने संकेत गरिरहेको थियो। यो संकेतलाई कमजोर संकेत मानिन्छ। मंगलबार भने मूल्य घटेर सानो दोजी आकृति बनेका छन्। यसले मूल्य प्रति लगानीकर्ताहरूमा अनिश्चय रहेको संकेत गर्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top