झापा, असार १२ । झापामा टिपरको आतंक देखिएको छ । टिपरको लापरवाहीका कारण जिल्लामा ९ दिनमा चार जनाको ज्यान गएको छ ।

हिजो साँझ ७ बजे बिर्तामोड ३ बिर्ताबजारको हटियालाईन –अधुवाखोला पुलस्थित भित्री सडकखण्डमा रामचौकबाट भद्रपुरतर्फ आउँदै गरेको मिक्स गिट्टी लोड भएको मे १ क ६४३ न.को टिपरले पैदल यात्री सोही ठाउँ बस्ने किशोर चापागाईकी छोरी १० वर्षीया अनुकृति चापागाईलाई ठक्कर दिएको थियो । घाइते बालिकालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पुर्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
तीन दिनअघि दमकमा टिपरको ठक्करबाट एक भुटानी शरणार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा दमक ३ स्थित बेलडाँगी शरणार्थी शिविर सेक्टर नम्बर ए२ हट नम्बर २८५ बस्ने ८३ वर्षीय इन्द्रबहादुर भट्टराई रहेका छन् । असार ९ गते दिउँसो १ः१० बजे दमक ३ बेलडागी बाङ्गे चोकस्थित भित्री पक्की सडक खण्डमा ताराबारीबाट दुधेतर्फ जाँदै गरेको मे १ क ८७९ न.को मिक्स्चर मेसिन टिपरले साइकल यात्री भट्टराईलाई ठक्कर दिएको थियो । टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि दमक अस्पताल दमक लगिएको थियो । उपचारका क्रममा दिउँसो २;१५ बजे उनको मृत्यु भएको थियो ।
त्यस्तै असार ३ गते दमकमै टिपरको ठक्करबाट एक जना पूर्व शिक्षकको मृत्यु भएको थियो ।
बिहान ९.५५ बजेतिर दमक ९ स्थित निम्स अस्पतालअगाडिको पूर्व पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको मे ११प १६२० नं को स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । स्कुटीमा सवार दमक ५ जेष्ठ नागरिक टोलका अन्दाजी ६० बर्षीय भिमबहादुर कार्की गंभीर घाइते भएका थिए । टाउको , दाहिने हात , अनुहारलगायतका भागमा चोट लागेका कार्कीलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिएर फरार भएका टिपर र टिपर चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको थियो । खोजतलास गर्ने क्रममा दिउँसो १२ः३० बजे प्र.१–०२–००१ क ४२८५ नम्बरको टिपर र टिपर चालक गौरादह वडा न.९ बैगुनधुरा बस्ने २९ वर्षीय दिपक प्रधानलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको हो ।
त्यस घटनाको अघिल्लो राति गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । असार २ गते राति ८ः२० बजे गौरादह १ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी– गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गौरादह ४ बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते गुरागाईलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा राति ८ः४५ बजे मृत्यु भएको थियो ।


