झापा, १५ बैशाख
जिल्ला प्रहरी कार्यालय झापाले चोरीका घटना न्यूनीकरण र नियन्त्रणका लागि सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय घरहरूमा हुन सक्ने चोरीका घटनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षाका विभिन्न उपायहरू अपनाउन जिल्लावासीलाई सार्वजनिक रूपमा अपिल गरेको हो ।
झापा प्रहरीले घरको भौतिक सुरक्षादेखि सामाजिक सञ्जालको प्रयोगसम्मका विषयमा विशेष सावधानी अपनाउन सुझाव दिएको छ । प्रहरीका अनुसार घरका झ्याल र ढोकाहरू सधैं बलिया बनाउने तथा गुणस्तरीय ताल्चाको प्रयोग गर्नु अनिवार्य छ । बहुमूल्य गरगहना, सुन, चाँदी र नगद घरमा नराखी बैंकको लकरमा राख्न र आफूसँग भएका यस्ता वस्तुबारे कसैलाई जानकारी नदिन प्रहरीले सचेत गराएको छ ।
सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रहरीले आफूसँग भएका गरगहना वा बहुमूल्य वस्तुबारे सामाजिक सञ्जालमा तस्बीर वा विवरण पोष्ट नगर्न तथा परिवारसहित लामो समय बाहिर घुम्न जाँदा उक्त कुरा सामाजिक सञ्जालमा सार्वजनिक नगर्न अनुरोध गरेको छ । घरबाट बाहिर निस्कँदा वा घर छाडेर हिँड्दा झ्याल–ढोका राम्ररी बन्द भएको सुनिश्चित गर्न र सधैं एउटै समयमा निस्कने वा पस्ने दिनचर्यामा परिवर्तन गर्न प्रहरीले सुझाव दिएको छ ।
त्यसैगरी, अपरिचित व्यक्तिहरूलाई घर कम्पाउण्डमा नल्याउन, रातको समयमा घर वरपर उज्यालो हुने गरी बत्तीको व्यवस्था गर्न र सम्भव भएसम्म घरको सुरक्षाका लागि सिसिटिभी क्यामरा जडान गर्न प्रहरीले जोड दिएको छ । आफ्नो टोलमा आउने नयाँ मानिसका गतिविधिमा ध्यान दिन र कुनै शंकास्पद अवस्था देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्दै, लामो समय घर छाडेर कतै जाँदा आफ्नो परिवारका सदस्य, विश्वासिलो छिमेकी वा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।
कुनै पनि शंकास्पद गतिविधि वा आपत्कालीन अवस्थामा तत्काल सम्पर्क गर्न आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणका लागि प्रहरी परिचालन कक्षको १०० वा मोबाइल नम्बर ९८५२६७१५५५ मा सम्पर्क गरी जानकारी गराउन सकिने व्यवस्था गरेको छ ।
