झापा, बैशाख ६ । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ ७.५० बजे गौरादह १सितापुरी चोकस्थित पाडाजुँगी –गौरीगंज सडकखण्डमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र.न.१–०१–०१५प.७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दमक ९ बस्ने ३३ वर्षीय दिपबहादुर मगरलाई केही भएन भने सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २७ वर्षीय पदमबहादुर मगर गंभीर घाइते भएका थिए ।

पदमबहादुरलाई नगर अस्पताल गौरादहमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक लगिएको थियो । त्यहाँबाट उनलाई राति १०.१० बजे बिराटनगरको नोबेल अस्पताल रेफर गरिएको थियो । आज बिहान ३ः४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव सोही अस्पतालमा रहेको र कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङसँग आवश्यक समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।