गौरादहका जनप्रतिनिधिले भने- विध्वंस मच्चाउनेलाई कारवाही होस्

गौरादह, २९ भदौ
गौरादह नगरपालिकाका जनप्रतिनिधिहरुले आन्दोलनका नाममा गरिएका तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कानुनी कारवाहीको माग गरेको छ । गौरादह नगरपालिका अराजक तत्त्वले तोडफोड, आगजनी र लुटपाट गरेकोप्रति नगरपालिकाले गम्भीर दुःख प्रकट गरेको छ। नगर प्रमुख छत्रपति सुवेदीसहित उपप्रमुख, वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “शान्तिपूर्ण आन्दोलनकै क्रममा विद्यार्थीहरूले ज्यान गुमाउनुपरेको घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचार सुनिश्चित गर्न सरकारसँग माग गर्दछौं।”

नगरपालिकाले भाद्र २४ गते शोक विदा दिने निर्णय गरेको अवस्थामा अराजक तत्त्वले नगर भवन, सरकारी गाडी, मोटरसाइकल, महत्त्वपूर्ण कागजातसहित जनप्रतिनिधिहरूको निजी घर र सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाट गरेको विज्ञप्तिमा उल्लेख छ। ज्येष्ठ नागरिकलाई समेत घरबाट निकालेर अमानवीय व्यवहार गरिएको भन्दै नगरपालिकाले यसलाई घोर आपराधिक कार्य बताएको छ। गौरादह नगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख जलवर्षा राजबंशी, वडा अध्यक्ष बलराम खरेल सहितका घरमा आन्दोलनका नाममा तोडफोड र आगजनी भएको थियो ।

“आज जनप्रतिनिधिहरू अर्काको घरमा आश्रय लिनुपर्ने अवस्था आएको छ। आगो निभाउन पुगेका दमकललाई समेत रोक्ने प्रयास हुनु अकल्पनीय अमानवीय कार्य हो,” विज्ञप्तिमा भनिएको छ।

नगरपालिकाले मुलुकमा अन्तरिम सरकार गठन भइसकेको र भाद्र २३–२४ मा घटेका घटनाबारे छानबिन हुनेमा विश्वास व्यक्त गर्दै सम्पूर्ण नगरवासीलाई देखेका र भोगेका घटनाबारे यथार्थ बयान दिन आग्रह गरेको छ। साथै, न्यायिक छानबिनबाट दोषीलाई कानुनी कारबाही हुने नगरपालिकाले विश्वास व्यक्त गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top