मोरङबाट फरार भएका थुनुवा झापादेखि पक्राउ

झापा, २४ साउन
मोरङको उर्लाबारीबाट शनिबार बिहान फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापादेखि पक्राउ परेका छन्। 

उपचारका क्रममा मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। अचानक पेट दुखेर बिरामी परेपछि लिम्बूलाई शुक्रबार राति ११:३० बजेतिर अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार बिहानका राति ३:१५ बजेतिर अस्पतालको झ्यालबाट हामफालेर उनी फरार भएका थिए। 

अस्पतालबाट भागेका लिम्बूलाई झापाको झापा गाउँपालिका–५ मेचे टोलबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार लिम्बू फरार भएपछि झापा प्रहरीसँग समन्वय गरेर खोजीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट टोली परिचालन गरिएको थियो। 

टेम्पो चढेर भारततिर भाग्न खोज्दै गर्दा दिउँसो २:३० बजेतिर पक्राउ गरिएको जानकारी एसपी चिमरियाले बताए। ‘भागेको लगभग ११ घण्टामा पक्राउ गर्न प्रहरी सफल भएको छ। तत्काल फेला पार्न नसकिएको भारततिर भाग्ने योजना रहेछ,’ उनले भने। लिम्बूलाई साउन २१ गते बुधबार पक्राउ गरेर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको थियो।  

लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको थियो। अनुसन्धानको प्रारम्भिक चरणमै उपचाररत अस्पतालबाट फरार भएका लिम्बू १२ घण्टा नबित्दै पक्राउ परेका हुन्। 

घटना अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २५ वर्षीय हरिभक्त दर्जी र मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल साउन १६ गते लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उनीहरुले उक्त ब्राउन सुगर नगिन लिम्बूबाट खरिद गरेर ल्याएको बताए। उनीहरुलाई लागुऔषध बेचेको पत्ता लागेपछि प्रहरीले लिम्बूलाई पनि पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको थियो। 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top