सेतुमारीमा स्कुटरको ठक्करबाट घाइते वृद्धको मृत्यु

दमक, ३२ असार
झापाको दमकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको मृत्यु भएको छ। दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मंगलबार राति उपचारका क्रममा निधन भएको हो।

श्रेष्ठलाई असार २९ गते साँझ दमक–१० स्थित जहदा टोलमा पैदल हिँडिरहेको बेला मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते श्रेष्ठलाई तत्काल दमकस्थित निम्स अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिए पनि परिवारको निर्णयमा उनलाई पुनः घर फर्काइएको थियो।

तर, स्वास्थ्य अवस्था झन् जटिल भएपछि पुनः दमक अस्पताल भर्ना गरिएको थियो। दमक अस्पतालमै मंगलबार राति ८:५८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर चालक १६ वर्षीय किशोर रहेको खुलेको छ। उनी तेह्रथुम म्याङलुङ घर भई हाल दमक–१० मा बसोबास गर्दै आएका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतक श्रेष्ठको शव दमक अस्पतालमै पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि छोरा सुरेशकुमार श्रेष्ठले बुधवार अपराह्न शव बुझेर अन्त्येष्टिका लागि लगेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top