झापा, भदौ ३१ । झापामा विश्वकर्मा पूजामा डिजे , माइक र साउन्ड सिस्टम बजाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले अत्यन्त जरुरी सूचना जारी गरी वातावरण एवं जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी चर्को आवाजमा डिजे , माइक वा साउन्ड सिस्टम बजाउने जस्ता कार्यहरू नगर्न नगराउन निर्देशन दिएको हो । त्यस्तै पटका, भुइँचम्पा तथा आतिशबाजीजन्य प्रज्वलनशील पदार्थ पड्काउने वा प्रयोग गर्ने कार्य पूर्णरूपमा नगर्न नगराउन , सार्वजनिक स्थानहरूमा होहल्ला गर्ने, झै–झगडा गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न नगराउन , पूजास्थल, कलकारखाना, शोरुम वा सवारी साधन सफा गर्ने/पुज्ने क्रममा सडक यातायातमा अवरोध नपुऱ्याउन तथा मूर्ति विसर्जन गर्दा वातावरणीय स्वच्छता ध्यानमा राखी सभ्य रूपमा गर्न, सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली बमोजिम धार्मिक र सांस्कृतिक पर्व मर्यादित रूपमा मनाउनुपर्ने भएकाले अनावश्यक खर्च, तडकभडक र भड्किलो प्रदर्शन नगर्न नगराउन र पर्व मनाउने क्रममा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको हक अधिकार हनन नहोस् भन्नेतर्फ ध्यान दिई आ–आफ्नो स्थानमा शान्तिपूर्ण रूपमा पर्व मनाउन सूचित गरिएको छ ।
यदि कुनै व्यक्ति, संस्था वा समूहले यस सूचनाको बर्खिलाप हुने गरी अमर्यादित, उच्छृङ्खल र गैरकानूनी क्रियाकलाप गरेमा वा चर्को आवाजमा डिजे बजाई जनजीवन प्रभावित पारेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चेतावनी दिएका छन् ।
उनले पछिल्ला वर्षहरूमा पर्व मनाउने बहानामा उच्च आवाजमा डिजे बजाउने, उच्छृङ्खल र अवाञ्छित गतिविधिहरू गर्ने जस्ता कार्यले शान्ति सुरक्षा र जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको पाइएकोले भोलि असोज १ गते सार्वजनिक शान्ति र सुरक्षा कायम राखी विश्वकर्मा पूजा गर्न आग्रह गरेका छन् ।



