5

काठमाडौं । शुक्रबार नेपालका फिल्म हलमा फरक दृश्य देख्न पाइनेछ । पहिलोपटक एउटै फिल्म दुई क्लाइमेक्ससहित रिलिज हुँदैछ ।

हामी कुरा गर्दैछौं- बलिउड फिल्म ‘हाउसफुल ५’को । हाउसफुल ५ ‘ए’ र ‘बी’ नाममा अक्षय कुमार स्टारर यो फिल्म प्रदर्शनमा आउँदैछ । प्रदर्शकले सोहीअनुसार दुई संरचनाका फिल्म रिलिज गर्दैछन् ।

‘ए’मा एउटा खालको क्लाइमेक्स हुनेछ भने ‘बी’मा अर्को खालको । चलचित्र संघका महासचिव सुरेन्द्र थापाले दुई भिन्न क्लाइमेक्सका फिल्मलाई ए र बी नाममा शो बाँडिएको बताए ।

दर्शकले आफूलाई जुन क्लाइमेक्स मनपर्छ, सोहीअनुसार फिल्म हेर्न सक्नेछन् । एउटा क्लाइमेक्सको दृश्य झण्डै २० मिनेट हुनेछ । फिल्मको रनटाइम १६६ मिनेट हुनेछ ।

सेन्सर पनि दुईपटक गरिएको छ । व्यवसायिक उद्देश्य राखेर निर्माताले पहिलोपटक विश्व फिल्ममा यस्तो अभ्यास गरेका हुन् । यो फिल्मको मुख्य कथावस्तु ६९ अर्ब पाउण्डका मालिक रञ्जित दोबरियाको हकदार को हुनेछ भन्ने नै हो ।

आफ्नो सम्पत्तिको हकदार जोली नामक आफ्ना बच्चा रहेको उनी बताउँछन् । तर अक्षय कुमार, रितेश देशमुख र अभिषेक बच्चनको नाम पनि जोली नै हुन्छ । उनीहरूले सम्पत्तिको हकदार आफू रहेको दाबी गर्छन् ।

१९ जना स्टार अभिनित यो फिल्म अहिलेसम्म बनेको सबैभन्दा ग्ल्यामरस कमेडी हो । फिल्मको नेतृत्व कमेडीका बादशाह अक्षय कुमारले गरिरहेका छन् ।

उनीसँगै रितेश देशमुख, अभिषेक बच्चन, ज्याकलिन फर्नान्डिज, सोनम बाजवा, नरगिस फाखरी, सञ्जय दत्त, ज्याकी श्राफ, नाना पाटेकर, चित्रांगदा सिंह, फरदीन खान, चंकी पाण्डे, जोनी लिभर, श्रेयस तलपडे, डिनो मोरिया, रञ्जित, सौन्दर्या शर्मा, निकितिन धीर र आकाशदीप साबिर जस्ता नयाँ अनुहार पनि छन् । फिल्मलाई तरुण मनसुखानीले निर्देशन गरेका हुन् ।