बामदेवः चम्किलो विगत, धमिलो वर्तमान !

सेयर गर्नुहोस्
  • 6
    Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ ।

तर, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा वामदेव गौतमको नाम अहिलेजस्तो धमिलो थिएन, चम्किलो थियो । यो छोटो आलेखमा वामदेव गौतमको विगत र आगतबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

वामदेवका सबल पक्ष

-वामदेव गौतम हक्की स्वाभावका नेता हुन् । अरुले आँट गर्न नसकेका काम र निर्णयहरु उनी गर्न सक्छन् । ०६२/०६३ सालमा माओवादीसँग सहकार्य गर्ने हिम्मत वामदेव गौतमले नै गरेका हुन् । केपी ओलीले विरोध गर्दागर्दै उनी माओवादीसँग वार्ता गर्न रोल्पासम्म पुगेका थिए ।

– गौतमले पञ्चालयकालमा नारायणी पश्चिमको तराईमा हलीको भेष धारण गरेर भूमिगतरुपमा संगठन गरेका थिए । एमालेले नौ महिने सरकार चलाएका बेला केन्द्रीय संगठन हाँकेका गौतमलाई त्यसबेला एमालेभित्र कुशल संघटक पनि मानिन्थ्यो र त्यसबेला पश्चिम तराईमा उनी लोकप्रिय नेताका रुपमा परिचित थिए ।

-पूर्वमाले, एमाले र अहिलेको नेकपामा वामदेव गौतमको वरीयता निकै पुरानो हो । पार्टीभित्रको इतिहासको हिसाबले उनी केपी ओलीको विकल्पमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको समेत हैसियत दाबी गर्न सक्ने सिनियर नेता हुन् । यही कारणले गर्दा वामदेवले आफूलाई ‘भावी प्रधानमन्त्री’ र ‘भावी अध्यक्ष’का रुपमा सोच्ने गरेका छन् ।

– धेरैपटक उपप्रधानमन्त्री एवं गृहमन्त्री भएर सरकारमा गएका वामदेवसँग सरकार सञ्चालनको अनुभव पनि छ । मनमोहन र माधव नेपालका पालामा उपमहासचिव भइसकेका गौतमसँग पार्टी सञ्चालनको पनि अनुभव छ ।

-निकटस्थहरुका अनुसार नेता गौतम व्यवहारिक राजनीति र संगठनमा मात्र होइन, सिद्धान्त र विचारको मामिलामा पनि चासो राख्छन्, लेख्छन् र योजना निर्माण, विचार निर्माणमा अग्रसर हुन्छन् । यसअर्थमा उनी ‘प्लानर’ र ‘विचार निर्माता’ पनि हुन् । एमाले फुटाएर नेकपा माले बनाउँदा पनि जनताको बहुदलीय जनवाद (जबज) नछाडेका गौतमले मदन भण्डारीलाई यसमा सुरुदेखि नै साथ दिएका थिए ।

– नेकपाको स्थायी कमिटी वा संसदीय दलभित्रको वर्तमान समीकरणमा गणितीय हिसाबले वामदेवको ‘स्ट्रेन्थ’ खासै देखिँदैन । तथापि पार्टीको दैनन्दिन काम गर्नै सचिवालयमा वामदेवको महत्व छ । ९ सदस्यीय सचिवालयमा गौतम जुन गुटमा लाग्छ, त्यतै बहुमत पुग्ने भएकाले उनलाई केपी ओली र प्रचण्ड दुबैले महत्व दिएका छन् । प्रधानमन्त्री ओली उनको घरसम्म धाउनुको अर्थ पनि यही हो ।

वामदेवका कमजोरी

– वामदेव गौतमले ५० को दशकसम्म जुन लोकप्रियता आर्जन गरेका थिए, त्यो क्रमशः गुमाउँदै गइरहेका छन् । उनको लोकप्रियताको ग्राफ दिनानुदिन ओरालो लागिरहेको छ ।

– आफू अलोकप्रिय हुँदैछु भन्ने कुरा गौतमले थाहै पाउँदैनन् । या, थाहा पाएर पनि त्यसलाई बेवास्ता गर्दै आएका छन् । जस्तो- ०७० सालको चुनाव हारेपछि उनले अरुलाई राजीनामा गराएर पनि सांसद हुन गरिरहेको जोडबलले उनलाई अलोकप्रिय एवं सत्तालोलुप नेताका रुपमा चिन्हाएको छ । तैपनि उनी लगातार त्यही प्रयासमा छन् । संविधानै संशोधन गरेर भए पनि प्रधानमन्त्री हुन खोज्छन् ।

– जानकारहरुका अनुसार वामदेवको सबैभन्दा ठूलो कमजोरी नै के हो भने आफ्नो लक्ष्य प्राप्तिका लागि जुनसुकै काम गर्न हुन्छ र गर्नुपर्छ भन्ने उनको धारणा छ । जस्तो- बल्खुमा पार्टी कार्यालय बनाउँदा उनले नाजायज ढंगबाट आर्थिक संकलनमा जोड गरेका थिए । सत्ता टिकाउन सांसदहरुको खरीद विक्रीलाई पनि जायज बताएका थिए । एमाले विभाजनका बेला नेपाली कांग्रेसबाट पैसा लिनसमेत तयार भएको त्यसबेलाका नेताहरु बताउँछन् । र, पछिल्लो उदाहरण- राष्ट्रियसभाको सदस्य बनेर प्रधानमन्त्री बन्नका लागि संविधानै संशोधन गर्न उनले जोडबल गरेका थिए । नेता गौतमका यस्ता स्टेपहरुले उनलाई अलोकप्रिय बनाउने र विवादमा मुछ्ने गरेको छ । जनतालाई केन्द्रमा राखेर सोच्ने भन्दा पनि मनोगत रुपमा चल्ने यो उनको स्वाभावजन्य कमजोरी हो ।

– आफ्नो निहीत उद्देश्य प्राप्त गर्नका लागि जायज-नाजायज सबै काम गर्न हुन्छ भन्ने मान्यता बोकेका गौतमको संगत पनि केही विचौलिया एवं खराब छविका मानिसहरुसँग हुने गरेको छ, जुन उनको अर्को कमजोरी हो । जस्तो- जतिखेर लोकमानसिंह कार्कीको रजगज थियो, त्यसबेला बानेश्वर हाइटमा रहेको कार्कीको निवासलाई केही विवादास्पद व्यक्तिहरुले आफ्नो अड्डा बनाएका थिए । र, त्यो अड्डामा वामदेव गौतमका एकमात्र छोरा पनि जाने गरेका थिए । तिनै छोरामार्फत जोडिएका केही विचौलिया अहिले पनि वामदेवको किचनसम्म पुग्ने गरेका छन् । यसरी विचौलियाहरुको संगतमा पर्दा सहकारी ठगी प्रकरणमा मुछिएका सुधीर बस्नेतले वामदेव गौतमको ५० लाख रुपैयाँ खाइदिएको र बैंकको ऋण तिर्न घरै बेच्नुपरेको उनी निकट नेताहरु बताउँछन् ।

– पार्टीभित्र कुशल संघटक भनिए पनि नेता गौतमले आफ्नो गुटका मानिसहरुलाई साथमा राख्न सकेनन् । आफैं पनि कहिले झलनाथतिर, कहिले ओलीतिर दौडधूप गर्दा उनी ‘सेनाविनाको सेनापति’ जस्तो बन्न पुगे । अहिले स्थायी कमिटीमा रहेका किरण गुरुङ, रघुवीर महासेठ उनलाई छाडेर ओलीतिर लागिसकेका छन् । स्व. रविन्द्र अधिकारीले पनि उनलाई भन्दा ओलीलाई साथ दिन थालेका थिए । अहिले ४४ सदस्यीय स्थायी कमिटीमा गौतम एक्लै छन् । केन्द्रीय समितिमा चाहिँ बलराम बास्कोटा, हरि पराजुली लगायतका नेताहरुले उनको साथ छाडिसकेका छैनन् । यसरी आफ्नो समूहका मानिसहरुलाई टिकाउन नसक्नु नेता गौतमको अर्को कमजोर पाटो हो ।

– उपप्रधानमन्त्री र गृहमन्त्री बनेर सरकारमा रहँदा पनि नेता गौतमले आफ्नो छवि लोकप्रिय बनाउने भूमिका खेल्न सकेनन् । पहिलो कार्यकालमा आइजीपी नियुक्तिको विवादमा परे । पछि गृहमन्त्रीले ट्राफिक नियम उल्लंघन गरेको तस्वीर भाइरल भयो । कोशी नहरको डिमा बसेका सुकुम्बासीको घर भत्काएको भनेर संसदमा तत्कालीन एमालेकै सांसदले गौतमको विरोध गरे । सारतः सरकारमा रहँदा नेता गौतमले जनपक्षीय एवं लोकप्रिय काम गरेको रेकर्ड खासै छैन ।

– २०५१ साल यता नेता गौतमले आफ्नो कर्मक्षेत्र बर्दियाबाट चुनाव जितेको रेकर्ड छैन । ०७० सालमा प्युठानमा उक्लिएर जिते पनि गत ०७४ को चुनाबमा उनी बर्दियाबाट फेरि हारे । ०४८ र ०५१ को चुनावमा बर्दियाबाट दुईचोटि चुनाव जितेका र पञ्चायतकालदेखि नै नारायणी पश्चिममा लोकप्रिय रहेका गौतम कसरी जनतामाझ कटिँदै गएका छन् भन्ने कुराको प्रमाण ०५६ यता उनले बर्दियामा व्यहोर्दै आएको चुनावी पराजय हो ।

– जता लाग्दा पनि पूर्णरुपमा हेलिने स्वाभावका कारण नेता गौतम बढी विवादमा तानिने गरेका छन् । जस्तो- माधव नेपाल र प्रचण्ड समूहको सुरुको झम्सिखेल बैठकमा वामदेवले ओलीलाई तत्काल दुबै पदबाट हटाइहाल्नुपर्छ भनेका थिए, जतिवेला प्रधानमन्त्री ओली युरोप भ्रमणमा थिए । त्यसबेला माधव नेपालले त्यसो गर्नु हुँदैन भनेर गौतमलाई ‘स्पिड ब्रेक’ गराउनुपरेको थियो । तर, अहिले उनै गौतम अर्को किनारामा पुगेर ओलीको बचाउमा लागेका छन् । यस्तै आक्रामक भूमिकाले गर्दा गौतमलाई अहिलेको पुस्ताले अडान नभएको एवं ढुलमुले नेताका रुपमा बुझ्न थालेको हो ।

गौतमलाई नजिकबाट चिन्ने नेताहरु भन्छन्- वामदेव कामरेडको कम्पासमा शून्य डिग्रीपछि एकैचोटि १८० डिग्री मात्र छ, कम्पासको वीचमा अरु कुनै अंक छैनन् ।

-नेता गौतमको विरासत वैचारिकरुपमा प्रगतिशील नेताको जस्तो पनि बने पनि पछिल्लो समय उनी फेरि जबजकै पक्षमा अडिएका छन् । जबकि देशको राजनीति जबजभन्दा अगाडि बढिसक्यो । यो अवस्थामा गौतमले आफूलाई ‘विचारधारत्मक अपडेट’ गर्नुको साटो यथास्थितिवादी बनाउन थालेको प्रतीत हुन्छ । यतिमात्रै नभएर संघीयता, पहिचान लगायतका एजेण्डाहरुमा पनि गौतमको अरुची देखिँदै आएको छ ।

– आफ्ना कमजोरीहरुबारे चर्चा गर्दा स्वयं नेता गौतमले चाहिँ जिन्दगीमा दुईवटा भुलहरु गरेको निकटस्थसँग बताउने गरेका छन् : पहिलो भुल नेकपा एमाले फुटाएर माले बनाउनु । र, दोस्रो भुल- गत महाधिवेेशनमा केपी ओलीलाई सघाउनु ।
विगत र आगतका व्यवहारहरु हेर्दा यस्तो लाग्छ- गौतम विवेकमा भन्दा बढी आवेगमा चल्ने नेता हुन् ।

वामदेवका लागि अवसरहरु

वामदेव गौतम नेकपाभित्र अवसर नै नभएका निरीह अवस्थामा पुगिसकेका नेता भने होइनन् । उनले आफ्नो कमजोरीलाई सच्याएनन् भने मनोगतवादले असफलतामा पुर्‍याउने सम्भावना बढी देखिन्छ । तथापि, उनीसामु केही सम्भावना पनि देखिन्छन् ।
भर्खरै केपी ओली समूहले नेता गौतमलाई केही आश्वासनहरु दिएको बुझिएको छ । जस्तो-

  • मन्त्रिपरिषद पुनर्गठन हुँदा वामदेवपत्नी तुलसा थापालाई मन्त्री बनाउने ।
  • महाधिवेशनअघि नै केपी ओलीले पार्टी अध्यक्ष पद त्याग गर्नुपर्ने परिस्थिति आयो भने माधव नेपालको साटो वामदेवलाई पार्टी अध्यक्ष बनाउने ।
  • वीचैमा पार्टी फुटिहाल्यो भने ओली समूहको पार्टी अध्यक्ष गौतमले सम्हाल्ने ।

आगामी महाधिवेशनमा एकल अध्यक्षका लागि केपी ओली समूहले वामदेव गौतमलाई नै उम्मदेवार बनाउने । अनि, अर्को चुनावपछि गौतमलाई पार्टीको एकल अध्यक्ष र प्रधानमन्त्री बनाउने ।

यस्ता आश्वासन अहिले केपी ओली समूहबाट नेता गौतमले पाएका छन् । र, पछिल्लो परिस्थितिले के देखाउँछ भने वामदेव गौतमका अगाडि अवसरै अवसर छन् ।

किनभने, उनलाई ओली पक्षले मात्र होइन, माधव नेपाल र प्रचण्ड पक्षले पनि आफूसँगै राख्न चाहेको छ । गौतमलाई यही कार्यकालमा प्रतिनिधिसभा लैजाने आश्वासन सो समूहले नेता गौतमलाई दिएको छ ।

चुनौतीहरु

वामदेव गौतमका सामु चुनौतीका पहाड छन् । जस्तो-

– आफ्नो घट्दो लोकप्रियता र बिग्रँदो छविलाई कसरी सुधार गर्ने ? बदनामीहरुबाट कसरी बच्ने ?

– एकीकृत पार्टी र सरकारको नेतृत्वमा जानका लागि आगामी चुनावमा कसरी विजय प्राप्त गर्ने ? जिल्लामा आफूविरुद्ध भड्किएको जनमतलाई कसरी आफूतिर आकर्षित गर्ने ?

– आफू पूर्वएमालेको पुरानो एवं सिनियर नेता हुँदाहुँदै पनि आफ्नो गुट भत्काएर पार्टीभित्रको शक्ति सन्तुलनमा पेण्डुलम बनिरहने कि स्थिर भएर कुनै एउटा निश्चित विन्दुमा अडिने ?

-पार्टीभित्रको अन्तरसंघर्षमा आफ्नो स्थान केपी ओली समूहतिरै हो कि अर्कोतिर ? वा आफैंले पो कुनै गुट बनाउने हो कि ? यो चुनौती वामदेव गौतमका सामु तेर्सिएको छ । अहिलेसम्म माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई सघाउँदै आएका उनी आगामी महाधिवेशनमा के गर्लान् ? यो सम्भवतः उनैलाई थाहा छैन ।

केपी ओली पक्षले महाधिवशेनपछि अध्यक्ष बनाउँछु भने पनि प्रचण्ड-माधव पक्षको सहयोग नलिएसम्म बहुमत जुट्ने देखिँदैन ।

वामदेवको संघर्षमय बायोग्राफी

नेकपा उपाध्यक्ष वामदेव गौतमको जन्म विसं. २००५ साल असार २६ गते प्युठानको दाखाक्वाडीमा भएको हो । उनी अहिले ७२ वर्ष पुगेका छन् । गौतमका हजुरबा सामन्त थिए, पिता धनी किसानमा झरे । उनीचाहिँ आफूलाई मध्यम वर्गको भन्न रुचाउँछन् ।

वामदेवको विगत निकै नै संघर्षपूर्ण आवेगहरुमा बितेको थियो । पाँच वर्षदेखि विद्यालय जान थालेका गौतमको ७ वर्षमै ब्रतबन्ध भयो । ९ वर्षको हुँदा ज्योतिष अध्ययन गर्न गुल्मीको गुरुकुलमा भर्ना भए । तर, उनको स्कुले जीवन निकै अस्थिर बन्यो ।

संस्कृत पढ्न छाडेर उनी प्युठानकमै आधार पाठशालामा ५ कक्षामा भर्ना भए । मोहन विक्रम सिंहको संगतमा पर्नै लागेका थिए, यहीवीचमा लाहुरे बन्छु भन्दै घरबाट सुन लिएर भागे । तर, ठगले सुन लगेर विचल्लीमा पारिदिएपछि उनी घर र्फकन बाध्य भए ।

त्यसपछि घर परिवार, स्कुल सबै ठाउँमा उनीमाथि अपमानजनक व्यवहार हुन थाल्यो । उनी मुक्ति हाईस्कुलमा ६ कक्षामा भर्ना भए । त्यहाँबाट ८ कक्षा पास भएपछि साहुका छोराहरुसँग लागेर बनारस गए । त्यहाँ घरेलु कामदारका रुपमा १५ दिन काम गरे ।

प्युठानमा गौतमको परिवार कांग्रेस थियो । उनका मामा प्युठान कांग्रेसका संस्थापक एवं २०१५ सालका निर्वाचित सांसद थिए । बनारसमा निर्वासित जीवनमा रहेका मामाको साथ लागेर गौतम गोरखपुर पुगे । र, एउटा साथीको सहयोगमा नेपाल फर्किए । बेखर्ची अवस्थामा रहेका वामदेवलाई टिकुरीका घमानसिंह केसीले बाग्लुङ लगे ।

भारतबाट फर्केपछि गौतमको बसाइ बागलुङको भीमगिठ्ठेमा भयो । बाग्लुङमै हुँदा कम्युनिस्ट पार्टीको सदस्य बने । असारे प्राथमिक विद्यालयका प्रधानाध्यापक गोविन्द केकेले उनलाई पार्टी सदस्यता दिएका हुन् ।

उनी फेरि प्युठान आए । मुक्ति हाइस्कुलमै ९ महिना पढेर एसएलसी दिए र उत्तीर्ण गरे ।

प्युठानमा कम्युनिष्ट पार्टीसँग सम्पर्क नभएपछि खर्चको जोहो गरेर भारतको मुम्बईमा पुगे । त्यहाँ जवलपुरमा १० दिनसम्म एउटा पसलमा काम गरे । त्यसपछि नेपालगञ्ज हुँदै सुर्खेत पुगे । त्यहाँस्थित रजेना प्राविको प्रअ बने । त्यहाँ पनि धेरै समय टिकेनन् र विद्रोह गरेर बर्दियातिर लागे ।

अन्ततः बर्दिया नै नेता गौतमको राजनीतिक कर्मथलो बन्यो । त्यहाँ उनले केही समय जिल्ला पञ्चायत कार्यालयमा मुखियाको जागिर खाए । सब इन्स्पेक्टर बनेर ‘वनजाँचे’ को जागिर गरे । कम्युनिष्ट अध्ययन केन्द्र सञ्चालन गरे ।

तर, गौतमको बसाई बर्दियामै स्थिर रहेन । सञ्चा कम्युनिस्ट बन्नका लागि भन्दै भारतको कानपुरमा फलामखानीमा काम गरे । त्यहाँबाट फर्केर केही समय रुपन्देहीमा बसे । राजमार्गतिर मजदुरी गर्न पाइन्छ कि भनेर काम खोजे । तर, नपाएपछि निराश बनेर फेरि भारततिरै फर्किए ।

भारतको असाम जान भनेर हिँडेका उनी वीरगञ्जमा निस्किए । भैंसालोटनमा एक रात बिताएर फेरि भैरहवा फर्केर रक्सी कारखानामा एक हप्तासम्म काम गरे । लुम्बिनी पुगेर बुद्धशिला र अशोक स्तम्भको पहिलोचोटि दर्शन गरे ।

फेरि भारत पुगेर एउटा कलेजमा तीन महिनाजति चौकीदारी गरे । अनि फेरि मजदुर बनेर कम्युनिस्ट पार्टीमा काम गर्छु भन्ने सोचेर नेपाल फर्किए । र, भैरहवाको ठुटेपिपलस्थित माछा फार्मको मुखिया बने । पक्लिहवा क्याम्पसमा भर्ना भए ।

यही क्रममा जीवराज आश्रति मार्फत कम्युनिष्ट पार्टीको सम्पर्कमा आए । विद्यार्थी आन्दोलन भयो, गौतम पक्राउ परे । दोस्रोपट पार्टी सदस्यता लिए । मोदनाथ प्रश्रतिले गौतमलाई पार्टी सेलमा संगठित गरे ।

गौतमले कम्युनिष्ट साहित्य अध्ययन गर्न थाले । सुरुमा कृषि फार्ममै काम गरे । त्यहीँ उनले सेल कमिटी गठन गरेपछि मोदनाथले उनलाई एरिया कमिटीमा बढुवा गरे । मोदनाथ पक्राउ परेपछि एरिया कमिटीका सचिव सीताराम किसान पलायन भए । र, गौतम एरिया कमिटीको सचिव बने । त्यसपछि उनले पूर्णकालीन कार्यकर्ता भएर भूमिगत बन्न पाउँ भन्दै पार्टीमा निवेदन हाले ।

गौतमको भूमिगत राजनीतिको औपचारिक यात्रा पाल्पाबाट सुरु भयो । तर, एक महिनापछि नै उनी रुपन्देही फिर्ता भए र सालझण्डी क्षेत्रमा खटिए । जिल्ला कमिटीमा उक्लिए ।

पञ्चालतकालमा गौतमले रुपन्देही, नवलपरासी र कपिलवस्तुको इञ्चार्ज भएर काम गरे । २०२७ सालतिर किसान आन्दोलन चर्किँदा उनी सोही क्षेत्रमा कार्यरत थिए । ०२९ सालपछि कार्यकर्ताहरुको भागाभाग, पलायन र विभाजन सुरु भयो । पुष्पलालको पार्टीभित्र विद्रोह भयो । ०३० सालपछि मुक्ति मोर्चा बन्यो । पुष्पलाल र तुल्सीलालवीच अन्तरविरोध चर्कियो । उनी को-अर्डिनेशन केन्द्रसँग नजिकिन थाले । सोहीबेला उनी पक्राउ परे र दुई वर्षजति जेल बसे । जेलभित्रैबाट उनले कोअर्डिनेसन केन्द्र तीनचोटि सदस्यता नवीकरण गरे । यो समूहलाई झापा विद्रोहवाला समूहका रुपमा चिनिन्थ्यो । २०३५ सालमा यो माले भयो र पछि एमाले भयो ।

जेलबाट निस्केपछि वामदेव गौतम नेकपा (माले) को सम्पर्कमा पुगे । सुरुमा गण्डकी-धौलागिरीको इञ्चार्ज बने । एक समय सुदुरपश्चिमको पनि इञ्चार्ज बने ।

वामदेव ०४६ साल भदौको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य बने । ०४६ सालको जनआन्दोलनका बेला मध्यपश्चिमबाट नेतृत्व गरे । र, ०४७ बैशाख ९ गतेदेखि खुल्ला राजनीतिमा आए ।

ओली समूहको पेलान

माले र मार्क्सवादीवीच एकता भएर एमाले बन्दा संस्थापक केन्द्रीय सदस्य बनेका गौतम ०४९ को पाँचौं महाधिवेशनबाट पोलिटब्यूरो सदस्य बने । ०५१ सालमा एमाले सरकारमा गएका बेला उपमहासचिव बनेर सिंगो पार्टी हाँक्ने काम गरे ।

तर, एमाले ९ महिने सरकारबाट सरकारबाट बाहिरिएपछि ओली समूहको दबावमा गौतमको उपमहासचिव पद खारेज भयो । त्यसबेला पार्टीभित्र वामदेवको लोकप्रियता बढेकाले ओली पक्षले अपमानित ढंगबाट गलहत्याएको गुनासो गौतमले निटस्थहरुसँग गर्दै आएका छन् । ओली समूहले उपमहासचिव पद अबैधानिक भएको बताएको थियो ।

२०५४ सालसम्म आइपुग्दा पार्टीभित्र वामदेव गौतम र केपी ओलीपक्षवीच दुरी बढ्दै गयो । पार्टीभित्र संस्थापन पक्ष र सीपी मैनाली पक्षवीच अन्तरसंघर्ष चर्किइरहेकै थियो । जबज पक्षमै भए पनि ओली समूहको लखेटाइमा परेका वामदेवले आफू जबजको पक्षधर हुँदाहुँदै पनि नौलो जनवादी धारका सीपी मैनालीलाई साथमा लिएर नेकपा माले बनाए । ०५६ को चुनावमा मालेले शून्य सीट हात पार्‍यो । ०५८ सालमा वामदेव पुनः एमालेमै फर्किए ।

सूत्रहरुका अनुसार त्यसबेला वामदेवलाई एमालेमा भित्र्याउन केपी ओली तयार थिएनन् । तर, तत्कालीन महासचिव माधव नेपालको अगुवाईमा गौतम समूह मातृपार्टीमा फर्कियो ।

एमालेमा आएपछि गौतमले माओवादीलाई शन्ति प्रक्रियामा ल्याउन भूमिका खेले । त्यसो गर्दा ओली पक्षले उनलाई माओवादी परस्त भन्दै कडा आलोचना गर्‍यो ।

आफूले ०५४ सालमा ओलीबाट धोका पाए पनि अन्ततः नवौं महाधिवेशनमा वामदेव गौतमले केपी ओलीलाई सघाएर अध्यक्षमा जिताए । संसदीय दलमा पनि झलनाथ खनाललाई हराएर ओलीलाई जिताउन वामदेवले निर्णायक भूमिका खेले ।

यसको साटो ओलीले संसदीय दलको नेता बनाउन वामदेवलाई दिएको वचन पूरा नगरेकोमा गौतमले चित्त दुःखाउँदै आएका छन् । त्यतिमात्रै होइन, बर्दियामा आफूले चुनाव हार्नुमा पनि अन्तरघातले काम गरेको गौतमको दाबी रहँदै आएको छ ।

आखिर, जति नै विरोधाभासापूर्ण सम्बन्ध रहेता पनि अहिले फेरि गौतम र ओलीवीच डिनर मिटिङहरु चल्न थालेका छन् । यसका पछाडिका प्रमुख पात्र हुन्- विष्णु पौडेल ।

विष्णु पौडेल ‘फ्याक्टर’

वामदेव गौतम र विष्णु पौडेलवीचको सम्बन्ध अहिलेको होइन, धेरै पुरानो हो । विगतमा माले-एमालेवीच चर्को विवाद हुँदा पनि वामदेव र विष्णुवीच घनिष्ठता यथावतै थियो । दुबै लुम्बिनीका नेता हुन् । वामदेवले पौडेलको गृहजिल्ला पाल्पामा पनि काम गरेका छन् भने रुपन्देहीमा दुबैले सँगै काम गरेका छन् । पार्टीभित्र पूर्वेलीहरुको बोलवाला भयो भन्ने उनीहरुवीच क्षेत्रीयताले पनि काम गरेको छ ।

एमालेको नौ महिने सरकारका बेला वामदेव र विष्णु पौडेलको हल अझै दह्रोसँग गाँसियो । माधव नेपाल, केपी ओली सबै मन्त्री बेनका बेला यी दुबै नेता सरकारमा गएनन् । बर्दियाबाट जितेका वामदेव उपमहासचिव थिए भने पाल्पाबाट निर्वाचित पौडेलले युवा पुस्ताका कनिष्ट हुँदाहुँदै एमाले संगठन विभाग प्रमुखको जिम्मा पाएका थिए । त्यसबेला गौतम र पौडेलले देश दौडाहा गरेर संगठनमा मेहनत गरे र आफ्नो क्षितिज फराकिलो बनाए ।

एमाले र मालेको एकतापछि शुरुमा वामदेव गौतम केपी ओलीको पक्षमा थिएनन् । आठौं महाधिवेशनमा गौतमले झलनाथलाई सघाएका थिए ।

तर, नवौं महाधिवेशनमा विष्णु पौडेलले नै फकाएर गौतमलाई ओलीसँग गठबन्धन गराएका हुन् । वामदेवलाई संसदीय दलको नेता बनाउने ओलीको वचनका साक्षी पनि पौडेल नै हुन् । -ओली- प्रचण्डवीच आलोपालो प्रधानमन्त्रीको साक्षीजस्तै)

पछिल्लो समय केपी ओली संकटमा पर्दै गर्दा वामदेवलाई ओलीसँगै राख्न विष्णु पौडेलले भूमिका खेलिरहेका छन् । पूर्वएमालेभित्र विष्णु पौडेल निकै चतुर एवं शक्तिशाली खेलाडी मानिन्छन् । बालुवाटारको चारआना जग्गा प्रकरणमा मुछिनुचाहिँ पौडेलको राजनीतिक जीवनमा सबैभन्दा ठूलो ‘सेटब्याक’ हो ।

(यो आलेखमा विष्णु पौडेलका बारेमा थप चर्चा गर्ने उद्देश्य छैन । वामदेवको सन्दर्भमा छोटो चर्चा गर्नुपरेको मात्र हो ।)

अन्त्यमा, वामदेव ओली सम्बन्धकै विषयमा चर्चा गरेका बिट मारौं –

इतिहासले पनि कहिलेकाहीँ मजाक गर्दोरहेछ । उसबेला वामदेव गौतमलाई माओवादीपरस्त भएको आरोप लगाउने केपी ओलीकै नेतृत्वमा अहिले माओवादीसँग पार्टी एकता भएको छ । र, वामदेवचाहिँ पार्टी फुटे पनि फरक पर्दैन भन्ने लाइनमा उभिएर केपी ओलीको आश्वासनको दोस्रो कोसेली फुकाउने तयारीमा देखिन्छन् ।

आखिर यही नै त हो उर्जाशील वामदेव गौतमको भवितव्य- चम्किलो विगत, धमिलो वर्तमान ! (अनलाइन खबरबाट)