प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईकाे राजिनामा

सेयर गर्नुहोस्

विराटनगर- पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजिनामा दिदै हुनुहुन्छ ।

संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट आजै राजिनामा गरेर एमाले सचिब भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी छ । यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश एकका अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । मुख्यमन्त्रीमा आचार्यलाई अघि बढ्न अध्यक्ष ओलीले केही महिना अघि नै संकेत गर्नुभएको थियो ।

राजिनामाका लागि अहिले विहान नौ बजेको जहाजबाट मुख्यमन्त्री राई बिराटनगर जाँदै हुनुहुन्छ । केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका प्रदेश १ का सांसदहरु पनि बैठक अगावै विराटनगर फर्कँदै हुनुहुन्छ । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार ११ बजे संसदीय दलको बैठकले आचार्यलाई दलका नेता चयन गर्ने र लगत्तै राईले राजीनामा गरेर आचार्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकहाँ आवेदन गर्ने तयारी छ ।

प्रदेश १ मा हाल ९२ जना सांसद छन् । सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ । त्यसमा राजेन्द्र राई,रानन राई र गणेश काम्बाङ माधव नेपालतिर लागेका छन् । यसो गर्दा पनि एमाले एक्लैको ४८ जना सांसदहरु हुन्छन् ।