आज मोरङमा कोरोना भाइरस सङ्क्रमित सात जनाको मृत्यु

सेयर गर्नुहोस्

विराटनगर / अस्पताल र होम आइसोलेसनमा गरेर आज (सोमबार) बिहान मोरङमा कोरोना भाइरस सङ्क्रमित सात जनाको मृत्यु भएको छ ।

छ जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुने सात जना सङ्क्रमितमध्ये चार महिला र तीन पुरुष रहेका छन् ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको मृत्यु भयो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना पुष्टि भएकी महिलाको उपचारका क्रममा बिहान ६ बजेतिर मृत्यु भएको हो । उनलाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ८० वर्षीय वृद्धा पुरुषको पनि विराटमै बिहानका राति १ः५० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको जानकारी देवले दिए ।

नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु बिहान ९ः४० बजेतिर भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । बिहान ४ बजेतिर उनको मृत्यु भएको दाहालले जानकारी दिए । उनका अनुसार महिलालाई उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो ।

धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्ध पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको दाहालले बताए । उनको मृत्यु बिहान ४ः१५ बजेतिर भएको हो । वृद्धलाई उपचारका लागि जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो ।

कोसी कोभिडमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । उपचारका लागि जेठ ३ गते भर्ना गरिएका उनको बिहानका राति १२ः२० बजेतिर मृत्यु भएको राजवंशीले बताए ।

सुन्दरहरैँचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । परीक्षण गराउँदा जेठ ५ गते कोरोना पुष्टि भएपछि उनी घरमै होम आइसोलेसनमा बस्दै आएकी थिइन् ।