दमकमा थप कडा लकडाउन गर्ने निर्णय

सेयर गर्नुहोस्

दमक/ दमकमा जिल्लाको निषेधाज्ञाभन्दा थप कडा लकडाउन कायमै राख्ने निर्णय भएको छ । आज भएको सर्वपक्षिय छलफल तथा दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले लकडाउनलाई कडाका साग परिपालन गराउने निर्णय गरेको छ । जेठ १ गतेदेखि जारी रहेको लकडाउन थप एकसाताका लागि कायम राख्ने र बिगतको निर्णय नै कार्यन्वयनमा ल्याईने जनाईएको छ ।

मल,खाद,बिउ,बिजन,कुखुराका चल्ला-दाना,पशुपंक्षिका आहार सम्बन्धि पसल स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरि बिहान ११ बजेदेखि दिउसो १बजेसम्म संचालन गर्न पाईने भनेर जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको निषेधाज्ञामा उल्लेख छ । गत साताको लकडाउनको निर्णयमा दमकमा यो पनि खोल्न नपाइने उल्लेख छ ।

यसैगरी हरियो तरकारी,फलफुल,दुध तथा दुधजन्य पदार्थ, मासु तथा मासुजन्य पदार्थ स्थानिय तह र स्थानिय उध्योग बाणिज्य संघको समन्वयमा बिहान ९ बजे भित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउन सकिने भनेर प्रमुख जिल्ला अधिकारीद्धारा जारी भएको निषेधाज्ञामा उल्लेख रहेपनि दमकमा भने अण्डा र डेरी विहान ८ बजेसम्म खोल्न पाउने मात्र उल्लेख छ ।

दमकमा संक्रमणदर धेरै बढेकाले कडा लकडाउनको नै आवश्यक रहेको बताईएको थियो । गत जेठ १ गतेदेखि जारी रहेको लकडाउनलाई निरन्तरता दिने र यसमा खुकुलो बनाउने अवस्था नरहेको समितिका सदस्यहरुले सुझाव दिएको नगरपालिका श्रोतले जनाएको छ ।

नगरपालिकाका प्रमुख रोमनाथ ओलीले लकडाउन पालना गर्ने नगरबासीहरुप्रति आभार प्रकट नगरपालिकाले, जिल्ला प्रशासन कार्यालयले, संघीय सरकार तथा प्रदेश सरकारले बिभिन्न समयमा जारी गरेका सन्देश तथा आदेशहरु पालना गर्न अनुरोध गरे । यो हामी सबैको स्वास्थ्य सुरक्षाका लागि भएकाले यसको सबैले पालना गरौ, उनले भने ।

दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले जिल्लाले निषेधाज्ञामा उल्लेख गरेको डेलिभरी सेवा दमकमा लागु नहुने यहाँको निर्णय रहेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत ब्यवसायीहरुलाई लकडाउनको पालना गर्नका लागि अनुरोध गरेकाछन् । उनले लेखेकाछन्-

आज दमक नगरपालिकामा बसेको बैठकबाट जेठ ०१ देखि ०७ सम्म जसरी संचालन भएको थियो दमकमा कोभिड दिनानुदिन बढिरहेको कारण त्यहि अबस्थामा पुर्ण अझै कडाइका साथ ०८ देखी १४ गते सम्म लकडाउन रहने कुरा सबैमा जानकारी गराउदछु । घरमै बसौं बाहिर ननिस्कौ ।

नोट-जिल्लाले दिने भनिएको डेलिभरी सुबिधा दमकको हकमा लागू नहुने कुरा सुचित गराउद छु ।