काेराेना त्रासः उपचार नपाएरै जान्छ ज्यान

सेयर गर्नुहोस्
  • 5
    Shares

विराटनगर, भदाै ७

तीनवटै तहका सरकारको दाबी पत्याउने हो भने कोरोना कहरमा पनि प्रदेश १ को अवस्था ठीक छ। प्रदेश सरकार मन्त्रिपरिषद्ले शुक्रबार पनि ‘कोरोना कहर व्यवस्थापनमा जनअपेक्षा अनुसारकै काम भइरहेको’ निष्कर्ष निकालेको छ। तर वास्तविकता योभन्दा फरक छ।  

प्रदेश १ मा शुक्रबारसम्म २ हजार ५ सय ८८ जना संक्रमित छन्। जसमध्ये ६ सय हाराहारीमा घरैमा छन्। लक्षणबेगरका बिरामी होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था छ। उनीहरूमा लक्षण छ÷छैन भन्नेबारे सरकारी निकाय बेखबर छन्। यसबाहेक अस्पतालमै ज्यान गुमाएका र अस्पताल नपुग्दै ज्यान गुमाएका परिवारका सदस्यको आर्तनाद तथा चाहेर पनि अस्पताल जान नसकिरहेकाको पीडा सुन्ने हो भने सरकारी दाबी हावादारी मात्रै लाग्दैन, कमजोरी छोप्न खोजेको छर्लंग हुन्छ।  

अझ संक्रमितको अस्पतालमा राम्रो रेखदेख नहुने सुनेका आफन्त थप आतंकित छन्। सरकारी तहबाट यस्तो भय चिर्ने प्रयास भएकै छैन। ‘अस्पतालहरूमा संक्रमितको राम्रो उपचार भएको छ र कसैले पनि उपचार नपाउने अवस्था छैन’ भन्ने सामाजिक विकास मन्त्रालयको दाबी भए पनि अवस्था त्यस्तो छैन।  

यसको ताजा उदाहरण हुन्, विराटनगर महानगरपालिका–६ का ४५ वर्षीय संक्रमित व्यक्ति, जसले अस्पताल पुग्न नपाइ बिहीबार राति घरमै ज्यान गुमाउनु पर्याे। १० वर्षदेखि मधुमेहबाट पीडित ती पुरुष स्वास्थ्योपचारका लागि विराटनगरस्थित कोसी अस्पताल धाइरहन्थे। केही साताअघि मधुमेहले सिकिस्त भएर कोसी अस्पतालकै आइसियुमा उपचार गराएर फर्केका ती पुरुष रुघाले ग्रस्त पारेपछि कोरोना परीक्षणका लागि अस्पताल गए। भदौ ३ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि परिवारका सदस्य आत्तिए। अस्पताल लैजाने उपाय खोज्न थालियो। तर प्रदेशका सबै आइसोलेसन भरिभराउ भएको जानकारी पाएपछि ती पुरुषलाई घरैमा ‘आइसोलेटेड’ गरियो। पारिवारिक स्रोतका अनुसार बिहीबार राति अचानक श्वासप्रश्वासमा समस्या आयो।  

‘अस्पताल लैजाने तयारी हुँदाहुँदै मृत्यु भयो’, विराटनगर ६ का वडाध्यक्ष विजय कामतले भने, ‘अस्पताल लैजान नपाउँदै ज्यान गयो।’

विश्व स्वास्थ्य संगठनदेखि नेपालका पनि सबै तहका सरकारले भनिरहेका छन्, ‘दीर्घरोगी कोरोनाको बढी जोखिममा हुन्छन्।’ ती पुरुष दीर्घरोगी त थिए नै, केही साताअघि अस्पतालमा उपचार गराएर घर फर्केका थिए। त्यहीक्रममा कोरोनाबाट संक्रमित बने। ती पुरुषले संक्रमित भएपछि आइसोलेसन बेड, जहाँ उपचारको प्रबन्ध हुन्छ, त पाएनन् घरैमा पनि चिकित्सकीय सुझाव पाउन सकेनन्। ‘कतै पनि आइसोलेसन बेड खाली नभएपछि घरैमा राख्न बाध्य भयौं’, वडाध्यक्ष कामतले भने, ‘अहिले पनि हाम्रो वडामा मात्रै ३० संक्रमित घरैमा छन्। चिकित्सकीय सल्लाह लिने अवस्थामा उहाँहरू हुनुुहन्न।’  

विराटनगर महानगरपालिकाका अनुसार शुक्रबार साँझसम्म कोरोना विशेष अस्पतालहरूमा आइसोलेसन बेडको अभाव हुँदा महानगरपालिकामा बसोबास गर्ने साढे तीन सयभन्दा बढी संक्रमित घरैमा छन्। उनीहरू चिकित्सकीय सल्लाह पनि पाउन सकेका छैनन्।  

अस्पताल नपुग्दै ज्यान गुमाउनेका परिवारको पीडा र अस्पतालमै उपचारका क्रममा मृत्यु भएकाका परिवारको भनाइ कहालीलाग्दो छ। कतिसम्म भने आइसोलेसनमा उपचार नपाएरै मृत्यु भएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट परेको छ। नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सीताराम दाहालको अघिल्लो साता कोसी अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको थियो। अस्पतालमा उपचार नपाएरै बुवाको मृत्यु भएको दाबीसहित छोरी नीलिमाले भदौ ३ मा उच्च अदालतमा रिट दायर गरेकी हुन्। ‘साउन २६ गते बुबालाई आइसोलेसनमा भर्ना गरियो’, रिटमा लेखिएको छ, ‘त्यो दिन र २७ गतेसम्म अवस्था राम्रो थियो। तर २८ गते बिहान बुवाले हामीसँग डाक्टर नआएको, अरूकसैले पनि वास्ता नगरेको जस्ता समस्या सुनाउनुभएको थियो। त्यही दिन बेलुका बुवाको मृत्युको खबर पायौं।’ नीलिमाले रिटमा आफ्ना बावु सरकारी बेवास्ताको सिकार भएको दाबीसहित घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरेकी छिन्।  

रिटमा प्रदेश १ सामाजिक विकास मन्त्रालय, मन्त्रालयमा रहेको कोभिड १९ निगरानी तथा तथ्यांक संकलन तथा अनुगमन सचिवालय, मन्त्रालयकै कोभिड १९ संकट व्यवस्थापन केन्द्र, विराटनगर महानगरपालिका जनस्वास्थ्य विभाग, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोसी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुरसमेतलाई विपक्षी बनाइएको छ।

भुक्तभोगीका अनुसार कोसी अस्पताल आइसोलेसनमा चिकित्सकले संक्रमितसँग फोनमा कुरा गरेर काम तमाम गर्दै आएका छन्। ‘फोनबाट लक्षण सोध्ने र फलानो औषधि खानुस् भन्ने अभ्यास रहेछ’, एक संक्रमितले भने, ‘अस्पतालमा जस्तो सेवा पाइन्छ, यहाँ त्यो तहको रहेन्छ।’ सर्वसाधारणको गुनासो यस्तो छ तर प्रदेश सरकार मन्त्रिपरिषद्को ठहरचाहिँ ‘जनअपेक्षा अनुसार काम भइरहेको’ भन्ने छ। सरकार पक्षबाट यस्तो दाबी निरन्तर आइरहेको छ।  

केही समयअघिसम्म विराटनगरमा ज्वरो आएका बिरामीलाई उपचार नै नगर्ने , संक्रमण देखिएका ठाउँका बिरामीलाई अप्रेसन थिएटरबाटै निकाल्नेसम्मका काम पनि भए। त्यसक्रममा केही बिरामीले अस्पताल चहार्दाचहार्दै ज्यान गुमाउनुप¥यो। यो चैत तेस्रो साताको कुरा हो। धनकुटा महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको अस्पताल चहार्दैमा ज्यान गयो। उनी वडाध्यक्ष शिवकुमार लिम्बू तुम्बाकी कान्छी बहिनी थिइन्। छोरी लक्ष्मी गुरुङ (राई) का अनुसार एक दिन बगैंचाको फूलमा पानी लगाउने क्रममा आमा नरदेवी ढलिन्, बेहोस् भइन्। स्थानीय स्वास्थ्यकर्मीले ठूलै अस्पताल लैजान भनेपछि उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियोे।  

जाँचका क्रममा ज्वरो १०२ डिग्री देखियो। प्रतिष्ठानले आइसियू खाली नभएको र बिरामीलाई तत्काल आइसियूमा राख्नुपर्ने भन्दै विराटनगरस्थिते न्युरो अस्पताल रेफर गर्यो। न्युरोमा नर्सले उपचार सुरु गरे पनि पछि डाक्टरले भेन्टिलेटर खाली नभएको र धेरै ज्वरो आएका बिरामीको उपचार गर्न सकिँदैन भनेर निकालिदिए। त्यहाँबाट नरदेवीलाई विराट नर्सिङ होम लगियोे। त्यहाँका चिकित्सकले पनि उनलाई हेरेनन्। त्यसपछि उनलाई नोबेल अस्पताल पु¥याइयो। परिवारका सदस्य र आफन्तले धेरै अनुनयविनय गरेपछि मात्र नोबेलले भर्ना लिएर उपचार सुरु गर्यो। उपचारकै क्रममा उनको मृत्यु भयो। उपचार गराउन जाँदा निजी अस्पतालले ढोकाबाटै फर्काइदिएका बिरामीको संख्या धेरै छ।  

यी घटनाक्रमले स्वास्थ्य सेवाबाट नागरिक वञ्चित भइरहेको बुझिन्छ। ‘एकातिर सरकारी तयारी कमजोर छ’, विराटनगरका एक चिकित्सक भन्छन्, ‘अर्कातिर अस्पतालको व्यवस्थापन पनि राम्रो छैन। यसले उपचार नपाईकन ज्यान जाने, अस्पताल पुग्न पनि नपाउने जोखिम उच्च छ। यसतर्फ सरकारी निकायको ध्यान बेलैमा जानुपर्छ।’ (नागरिकबाट)