गौरादहमा शिक्षकको दरबन्दी मिलान गरिदै

सेयर गर्नुहोस्

गौरादह, २६ कार्तिक
गौरादह नगरपालिकाले शिक्षकहरुको दरबन्दी मिलान गरेको छ । विद्यार्थी संख्या, विद्यालयको आवश्यकताका आधारमा नगर भित्रका शिक्षकको आन्तरिक व्यवस्थापन गरेको हो ।
बाल विकास शिक्षक देखि माध्यमिक तह सम्मका २२ जना शिक्षकको दरबन्दी मिलान गरिएको हो । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले विद्यार्थी संख्या र बिषयगत शिक्षकको व्यवस्थापनका लागि दरबन्दी मिलान गरिएको बताए ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख विदुर आचार्यले प्रस्तावित माध्यामिक विद्यालयमा माध्यमिक तहको शिक्षक खटाइएको बताए । उनका अनुसार बालशिक्षक ५ जना, प्राथमिक तहका १२ जना र माध्यामिक तहका ५ जना शिक्षकको सरुवा भएको छ । नगरपालिकाले विद्यार्थीको संख्या अनुपात र बिषयत शिक्षकको अवस्थालाई ध्यान दिएर निर्णय गरेको आचार्यले जानकारी दिए । गौरादहमा अमर माध्यामिक विद्यालय गौरादह २, मोति माध्यामिक विद्यालय गौरादह १, जनज्योति मावि गौरादह ६ मा माध्यामिक तहका शिक्षकलाई खटाइने भएको छ । ती विद्यालयमा माध्यामिक तहको शिक्षकको दरबन्दी थिएन ।