झापा, ३१ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पताल भवनको शिलान्यास गरेका छन् । गौरादह १ चैतु चौकमा निर्माण भइरहेको अस्पताल भवनको उनले शिलान्यास गरे ।
अस्पताल शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले रोकिएका योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएको बताएका छन् । आज झापाको गौरादहमा नगर अस्पतालको शिलान्यास गर्दै उनले रोकिएका सडक योजना तथा पूवाधारलाई मुख्य प्राथमिकतामा राखिएको बताए । उनले एसियाली राजमार्ग निर्माण, हुलाकी र मदन भण्डारी राजमार्ग निर्माण तिब्र पारिने बताएका छन् ।
ञअब अहिले बजेट बनाउने बेला भएको छ, अर्थतन्त्र बिग्रेको अवस्थामा थियो, उनले भने,( बल्ल हामीले बिगारेको अर्थतन्त्र सहि दिसामा ल्याएका छौ, नयाँ काम र ठूला योजना ल्याउन अवस्था छैन । प्रधानमन्त्री ओलीले एक दुई वर्ष पुराना नै योजना सम्पन्न गरिने बताए ।
प्रधानमन्त्री ओली कृषिको आधुनिकिकरण र व्यवसायीकरणमा सरकारले काम गरिररहेको बताएका थिए । उनले सहकारी मार्फत कृषिको अनुदान र युवाहरूलाई स्टाटअप कर्जाका लागि आवेदन दिन सकिने बताए ।
झापा ५ का प्रतिनिधि सभा सदस्य समेत रहेका ओलीले गौरादहको अस्पताल सुविधा सम्पन्न हुने बताए । उनले बिस्तारै डाउलसिस, आँखा उपचार सहितका उपचार शुरु गरिने बताए । सुविधा सम्पन्न अस्पताल निर्माण भएपछी भारतबाट समेत बिरामीहरुले सेवा प्राप्त गर्न सक्ने उनले बताए । छिमेकी मुलुकका सिमाक्षेत्रमा अस्पताल नभएकाले तीनले पनि यतै सेवा लिन आउने छन, ओलीले भने । गौरादह नगर अस्पताल १५ शैयाको २०८३ माघमा सम्पन्न गर्ने गरि १२ करोड ५९ लाख ७९ हजारको लागतमा ३२ कठ्ठा क्षेत्रफलमा निर्माण हुने नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । गौरादह १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले अस्पतालको प्रगति विवरण पेश गरेका थिए भने उपप्रमुख जलवर्षा राजबंशीले स्वागत गरेकी थिइन् ।
सोहि अवसरमा अस्पताल निर्माणमा जग्गादान गर्ने परिवारलाई सम्मान समेत गरिएको थियो ।