कमल, २९ चैत
झापाको कमल गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा लिको सहजीकरणमा कमल गाउँपालिका २ स्थित कमलेश्वरी सहकारी संस्थाको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गरेकी थिइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले गाउँपालिकाको तर्फ बाट चालु आर्थिक वर्षमा भए गरेका कार्यक्रमको संक्षिप्त गतिविधिका प्रस्तुत गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा सहभागीका तर्फका जिज्ञासा संकलन गरिएको थियो । जसमा सहभागीका तर्फ बाट देबु चापागाईँ, एल वि तामाङ, ख्यामराज खनाल, उमाकान्त निरौला, सोमनाथ भण्डारी लगायतले सडक, विद्युत, जंङ्गली हात्तीको समाधान, स्वास्थ्य र कर्मचारी व्यवस्थापन लगायतका विषयका जिज्ञासा राखेका थिए । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सिमित स्रोत र साधनका विच जनमुखी कार्यक्रम गरिरहेको बताएका थिए । उनले हात्तीको जोखिम र कटान नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानाकर्षण गराएको बताएका थिए । यस्तै उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले कतिपय कानुनी अड्चनका लागि स्थानीय सरकारले सोचे अनुरुप कार्य गर्न नसकेको बताएका थिइन् । गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत केशव कुमार ढकालले सिमित कर्मचारीका विच कार्यसम्पादन गर्नुपरेको उल्लेख गर्दै कर्मचारी व्यवस्थापन चाडै गर्ने बताएका थिए । यस्तै ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा राजनीतिक दलका तर्फ बाट नेपाली काङ्ग्रेसका विरभद्र पोख्रेलले कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे भने २ नम्बर वडा अध्यक्ष अशोक सुब्बाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण भिन्न मिडियाका तर्फबाट बाबुराम निरौलाले गरेका थिए ।
२८ चैत्र २०८१, शुक्रबार १९:५१