झापा, २ चैत
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती र धम्कीका कारण झापाको गौरीगञ्ज २ पिण्डालघाट गाउँका सन्थालहरू विस्थापित हुने क्रम बढेको छ ।
भारतीय सीमा सुरक्षा बलको ज्यादतीका कारण सन्थाल बस्तीका सर्वसाधारण गाउँ छाडेर हिँड्ने क्रम बढेको हो । भारतीय पक्षको ज्यादती सहन नसकी गत वर्ष बरियार सोरेनको परिवार विस्थापित भइसको थियो ।
यो वर्ष उनका भाइ जेठा सोरेनलाई भारतीय सीमा सुरक्षा बलका जवानहरू आएर बसाइ सार्न दबाब दिइरहेको स्थानीयले बताएका छन् ।
गत वर्ष भारतीय एसएसबीहरुले बरियार सोरेनलाई घर खाली गर्न बारम्बार दबाब दिएका थिए । वर्षौंदेखि बस्दै आएको घर खाली गर्न नमानेपछि एसएसबीले धम्क्याउन थालेपछि उनी बसाइ सरेका थिए ।
यसपालि उनका दाजु जेठा सोरेनलाई पनि घर खाली गर्न दबाब दिइरहेको स्थानीय जेठा मुर्मूले बताए । २०५५ सालअघि नेपाली भूमिमा परेको जग्गा त्यसयता भने भारतीयको भन्दै पिलर गाडिएको र स्थानीयलाई धम्की दिने गरिएको स्थानीयले बताए । २०५५ सालमा कमल खोला पूर्व रहेको दशगजा पिलरहरू २०५५ ताका भारतीय पक्षले नेपाली भूमि मिच्दै कमल पश्चिम रहेको पिण्डालघुटु गाउँको बीचमै सारेका थिए । सीमा पिलर सारेपछि दशगजामा परेको भन्दै सन्थाल समुदायका १९ नेपाली परिवारलाई धम्की दिने गरिएको छ ।
स्थानीयका अनुसार २०५५ साल अघिसम्म कमल खोलाको पूर्वी किनारमा दशगजा क्षेत्र कायम थियो । सो दशगजा क्षेत्रका अवशेषहरू अहिले पनि खोलाको पूर्वी किनारमा भेट्न सकिन्छ । स्थानीयका अनुसार अहिले कायम गरिएको सीमाभन्दा एक किलोमिटर पूर्व सन् १९७९ मा कायम गरिएको २६ नम्बरको रिफरेन्स पिलर अहिले पनि यथावत छ । त्यसबेला दशगजा क्षेत्रमै साप्ताहिक रूपमा लाग्ने बालुवा डाँगी हटियामा नेपाली र भारतीयबीच विवाद सुरु भएको थियो । विवादले उग्र रूप लिन थालेपछि सो कुरा केन्द्रसम्म पुगेको थियो । २०५५र०५६ सालताका दुवै देशका प्रतिनिधिहरू बसेर सीमा नापजाँच गरेको र सोही साल पिलरहरू नेपाली भूमितिर सारिएको स्थानीयले बताएका छन् ।
त्यो बेला नेपाली बस्तीकै बीचमा आएर साना पिलरहरू गाडिएको थियो । नेपाली बस्तीमा पिलर गाडिएपछि स्थानीयले विरोध गरेका थिए,
तर त्यो बेला पिलरहरू स्थायी रूपमा नगाडेको र अहिले नापजाँचको लागि चिन्हमात्र लगाइएको भनेर स्थानीयलाई झुक्याएको स्थानीय ओमप्रकाश राजवंशीले बताए । २०७४ सालमा भारतीय पक्षले एकलौटी रुपमा आएर साना पिलरहरूको ठाउँमा अहिलेका ठूला पिलरहरू गाडेका छन् । अहिले १४२र८ नम्बरको पिलर स्थानीय बुधलाल हेमरमको आँगनमै गाडिएको छ ।
१४२ नम्बरको जङ्गे पिलर खोलाको पूर्वी किनारबाट पश्चिम किनारमा सारेर गाउँको उत्तरतिर गाडिएको छ । यही १४२ नम्बरको जंगे पिलर र १४२र८ नम्बरको पिलरको बीचमा परेका घरहरू खाली गर्न भारतीय पक्षले दबाब दिइरहेको स्थानीयले बताए ।
२०५५ सालपछि सीमास्तम्भ नेपाली भूमितिर सारिएपछि अहिले स्थानीय नेपालीहरूको ५०औँ विघा जमिन भारतीयको कब्जामा रहेको छ ।
स्थानीय बासिन्दाका अनुसार यहाँका कृष्णप्रसाद राजवंशी, योगेन्द्र राजवंशी, कात्तिकलाल राजवंशी, उत्तमलाल राजवंशी, राजेन्द्र राजवंशी, ओमप्रकाश राजवंशी, चन्द्रमोहन राजवंशी, बनुवा राजवंशीलगायतको जग्गा भारतीयको कब्जामा छ ।
उनीहरूले जग्गाको मालपोत भने वर्षेनि नेपाल सरकारलाई तिरिरहेको बताएका छन् । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले सो टोलमा सीमा विवाद रहेको बताइन् । उनले खोलाले धार परिवर्तन गर्दा सीमा विवाद भएको र नेपाली भूमि उता परेको भनेर दाबी गरिएकाले समस्या भएको बताइन् ।
उनले भनिन्, ‘कहिलेकाहीँ जग्गाघर खाली गरिदिन पर्यो भनेर दबाब आउँछ । हामीले कुरा गरेपछि उनीहरू चुप लागेर जाने गरेका छन् । यो समस्या समाधान भएको छैन ।’ अध्यक्ष राजवंशीले दुई देशीय समस्या भएकाले समाधानका लागि सङ्घीय सरकारले पहल गर्नुपर्ने बताइन् । (साभारः नेपाल प्रेस)