कमल, २८ फागुन
झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको समग्र विकासका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । कमल गाउँपालिकाका अध्यक्ष राईले बुधबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटघाट गरि पालिकाबासीले भोग्दैआएको जंगली हात्तीको समस्या र नदी कटानको समस्याको दिर्घकालिन समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।
भेटघाटका क्रममा अध्यक्ष राईले कमल गाउँपालिकाबासीले भोग्दै आएका विविध समस्याको समाधानका लागि पहल गरिदिन आग्रह गरिएको बताएका छन् । अध्यक्ष राईका अनुसार मुख्यतया कमलको वडा नम्बर ३, ४ र ५ का बासिन्दाले भोग्दै आएको हात्ती समस्या र यहाँको रतुवा र कमल खोलाको नदी कटान नियन्त्रणका लागि प्रधानमन्त्री ओलीसँग लिखित रुपमा ध्यानाकर्षण गराइएको हो ।
अध्यक्ष राईले बुझाएको ध्यानाकर्षण पत्रमा कमल गाउँपालिका भित्र जंगली हात्तीले दैनिक जसो ५÷७ वटा घर भत्काउने र स्थानीय किसानका घरमा राखेको खाद्यान्न र अन्नबाली नष्ट गरि जनधनको क्षति गर्ने गरेको उल्ल्ेख गरिएको छ । पछिल्लो समय कमल गाउँपालिका भित्र जंगली हात्तीका कारण चार जना सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु परेको समेत अध्यक्ष राईले प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको बताएका छन् ।
अध्यक्ष राईले गाउँपालिका भित्रका गौरवका योजनाका रुपमा रहेका योजनाहरुलाई आगामी आर्थिक बर्षको बजेट तथा योजनामा समावेश गर्न पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
गौरवको योजनामा वजेट माग
अध्यक्ष राईले कमल गाउँपालिकाका दिर्घकालीन तथा राष्ट्रिय गौरवका योजनाहरुको विकासमा सहयोग पुरयाँइदिन सरकारसंग माग अघि सारेका छन् । उनले कमल ५ को आदिवासी रंगशाला, मंगलवारे वजारको स्तरन्नती लगायतका योजनाहरुको विकासमा सरकारका अधिकारीहरुसंग आवश्यक वजेट बिनियोजन गरिदिन माग गरेका छन् ।
अध्यक्ष राईले उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरि कमल ५ स्थित मंगलबारे बजारको स्तरन्न्तीसहित व्यवस्थित बजारका रुपमा बिकास गर्न आवश्यक प्रस्ताव पेश गरिएको थियो । सिंहले शहरी बिकासका योजना अन्तर्गत सो योजनामा बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष राईले उल्लेख गरे । त्यस्तै कमल २ मा सामुदायिक भवन निर्माणको योजनाका बिषयमा पनि उपप्रधानमन्त्री सिंहसँग कुराकानी भएको अध्यक्ष राईले बताए ।
त्यसैगरी अध्यक्ष राईले बुधबारनै युवा तथा खेलकुद बिकास मन्त्री तेजलाल चौधरीसँग पनि मन्त्रालयमा पुगेर भेटघाट गरि कमल ५ मा निर्माणाधिन आदिवासी रंगशालाको अधुरो कम्पाउण्ड वाल, प्याराफिट निर्माण लगायतका काम गर्ने गरी कम्तीमा १० करोड रुपैयाँ बजेट छुट्याउन लिखित माग पत्र पेश गरेका छन् ।