इलाम, ४ मंसिर
इलामको चुलाचुली गाउँपालिकाको वडा नम्बर ५ ले सुत्केरी महिलालाई पोसिलो आहार वितरण गरिरहेको छ ।
वडा कार्यालयले अघिल्लो आर्थिक वर्षदेखि नै यो कार्यक्रम शुरु गरेको हो । वडामा नवजात शिशुको जन्मदर्ता गर्न आउदै तथ्यांक संकलन गर्ने र घरमै स्वास्थ्यकर्मी सहित गएर आहार वितरण गरिने गरेको छ । वडा अध्यक्ष बबिन राईका अनुसार यसले समयमै घटना दर्ता गर्न सबैलाई प्रेरित समेत गरेको छ । उनका अनुसार सुत्केरी महिलासँगै शिशुको पनि स्वास्थ्य जाँच गरिने छ ।
वडामा जन्मदर्ता गर्न आउदा उहाँहरुको तथ्यांक संकलन गर्ने र वडाका जनप्रतिनिधि स्वास्थ्य स्वमंसेविका सहित गएर आहार वितरण गछौ, वडा अध्यक्ष राईले भने, सँगै नवजात शिशु र सुत्केरी आमाको समेत स्वास्थ्य परिक्षण गछौ । वडामा रहेका शिखरकेटरी र बुकुवा स्वास्थ्य चौकीबाट नियमित रुपमा गर्भ जाँच गराएर र अस्पतालमै सुत्केरी गराएका महिलाले मात्रै त्यो सेवा प्राप्त गर्ने छन् । सुत्केरी महिलालाई डेढ केजी भाले, एक केजी घिऊ, एक केजी हर्लिक्स सहित जनप्रतिनिधिहरु घरमै पुग्ने गरेका छन् । अहिले सम्म ५६ जना सुत्केरी महिलाले यो सुविधा पाएका छन् । सँगै नियमित गर्भजाँच गरेको प्रमाण पेश भए ८ सय रुपैयाँ नगद समेत प्राप्त गर्ने गरेका छन् ।
वडामा रहेका दुबै स्वास्थ्य संस्थामा प्रत्येक महिनाको एक दिन चाप अनुसार भिडियो एक्सरे सेवा लिइरहेका छन् । यसैगरि वडाले त्रैमासिक रुपमा १०५ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको छ । वडामा रहेका दुई वटा विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको वडा अध्यक्ष राईले जानकारी दिए । कक्षागत शिक्षकको त्रैमासिक प्रतिवेदनका आधारमा अनुशासन, नियमितता, गृहकार्य र सरसफाईमा उत्कृष्ट हुने विद्यार्थीलाई शैक्षिक सहयोगी सामाग्री वितरण गरिदै गरेको छ ।
सेयर गर्नुहोस्
४ मंसिर २०८१, मंगलवार १६:१८