दमक, ७ कार्तिक
जग्गा सम्बन्धि विवादका क्रममा मंगलबार दिउँसो हत्या गरिएका दमक- ९ का ३७ बर्षिय देशु भनिने यामु निरौलाको हत्यामा संलग्न व्यक्तिहरु अझै फेला पर्न सकेका छैनन् ।
मंगलबार दिउँसो अन्दाजी ४ बजे दमक ३ स्थित बेलडाँगी – मधुमल्ला सडकखण्डको मावा खोलाको पुलमा निरौलाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । निरौलालाई जग्गा विवादका क्रममा ढुंगा प्रहार भएको र भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
क्रसर सञ्चालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ । निरौलालाई तत्काल नाम ,थर, वतन नखुलेका २–३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तर, अहिलेसम्म कोही पक्राउ परिनसकेको भएपनि तदारुकताका साथ खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
यता पीडित परिवारसहित आफन्तजनहरुले आज प्रहरी कार्यालयमा पुगेर घटनामा संलग्नको किटानी जाहेरीसहित निष्पक्ष छानवीन गरि दोषी माथि हदैसम्म सजाय गर्न माग गरेका छन् । .
हत्यामा संलग्नलाई कारवाही गर्न माओवादीको माग
नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले जग्गा सम्बन्धी विषयलाई लिएर ढुंगा प्रहार गरिदाँ दमकमा एक जनाको ज्यान गएको भनिएको घटनालाई गम्भिरताका साथ लिएको जनाउदै विज्ञाप्ति निकालेको छ ।
नगर अध्यक्ष कुलबहादुर बस्नेत (रवि) र नगर इन्चार्ज बेदु गौतमद्वारा जारी विज्ञप्तिमा पछिल्लो समय दमक नगरभित्र अपराधिक घटना बढ्दै गएकाले यस्ता घटनाप्रति गंभीर हुन स्थानीय सरकार र प्रशासनलाई ध्यानाकर्षण गराईएको उल्लेख छ ।
जारी विज्ञप्तिमा भनिएको छ, –‘घटनाको सत्य तथ्य छानविन गरी घटनाका दोषीलाई कानुनी कठघरामा ल्याउन प्रशासन समक्ष माग गर्दछौं ।’
सेयर गर्नुहोस्
७ कार्तिक २०८१, बुधबार १५:५९