दमकमा विपन्न परिवारलाई खाद्यान्न वितरण

सेयर गर्नुहोस्

दमक, १६ असोज
दमक नगरपालिकाले नगरका अतिविपन्न तीन सय परिवारलाई खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ ।
नजिकिएको दशैतिहार चाडपर्वलाई लक्षित गरि नगरपालिकाले तीन सय परिवारलाई खाद्यान्न वितरण गरेको हो । प्रति परिवार ५हजार २ सय ५० मूल्यका चामल,तेल,दाल,नुन लगायतका आधारभूत खाद्य सामाग्रीहरु वितरण गरिएको नगरपालिकाको सामाजिक विकास शाखा अधिकृत केशव प्रसाईले जानकारी दिए । उनका अनुसार वितरण गरिएको राहत सामाग्रीहरुमा ५० केजी मन्सुली चामल, २ केजी मुसुरो दाल, २ लिटर खानेतेल, २ केजी नुन ,सावुन ५ पिस उपलव्ध गराईएको हो । खाद्यान्न घरघरसम्म ढुवानीका लागि लक्षित परिवारलाई रु २सय रुपिया समेत प्रदान गरिएको थियो ।
नगरपालिकामा राहत सामाग्रीहरु नगरप्रमुख रामकुमार थापा, उपपमुख रेगिना भट्टराई प्रसाई, पूर्व नगर प्रमुख रोमनाथ ओली,सामाजिक व्यक्तित्व शेरवहादुर भट्टराई लगायतले हस्तान्तरण गरेका थिए । नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट स्वीकृत ‘जहाँ विपन्न त्यहाँ खाद्यान्न’ भन्ने कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाको वजेटमार्फत ती खाद्यान्न वितरण गरिएको थियो । दमकका १० वटै वडा कार्यालयबाट सिफारिस भई आएका लक्षित परिवारलाई पहिलोपटक यस किसिमको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।