अब दमकका हरेक वडामा प्रयोगशाला सेवा

सेयर गर्नुहोस्

दमक,४ असोज
झापाको दमक नगरपालिकाले प्रत्येक वडामा प्रयोगशाला शुरु गर्ने भएको छ । शुक्रबार मात्रै दमक १० मा सर्वसाधारणको आधारभूत स्वास्थ्य परिक्षणका लागि प्रयोगशाला (ल्याब) को दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गरे ।
यसअघि वडा नं ९ र ६ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा यो सेवा शुरु भइसकेको छ भने असोज भित्रै वडा नं ३ र ४ मा पनि यो सेवा शुरु गर्ने तयारी भइरहेको दमक नगरपालिकाले जनाएको छ ।
केएचडीसी नेपालको विशेष सहयोगमा दमक अस्पताल, किओच बाल अस्पताल र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकसँग सहकार्यमा विशेषज्ञ चिकित्सक सेवा पनि प्रत्येक स्वास्थ्य केन्द्रहरूबाट प्रदान गर्ने लक्ष्यसहित आधारभूत स्वास्थ्य केन्द्रहरुमा ल्याब सेवा शुरु गरिएको नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले जानकारी दिइन् । वडा नम्बर ४ र ३ मा असोज महिनाभित्रै ल्याब सेवाको शुभारम्भ गरिने र यस आर्थिक वर्षमा वडा नम्बर २ र वडा नम्बर ८ मा पनि ल्याब सेवाको शुभारम्भ गर्ने योजनासहित बजेट लगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको नगरपालिकाले जनाएको छ । वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालित ल्याबबाट विभिन्न ३३ प्रकारका स्वास्थ्य परिक्षण गर्न सकिने जनाइएको छ ।
दमक १० का वडाध्यक्ष राजेन्द्र भण्डारीका अनुसार ल्याब सेवा उदघाटनको अवसर पारेर नाक, कान, घाँटी र बालरोग सम्बन्धी एकदिवसीय शिविर पनि आयोजना गरिएको छ । गत वर्षमा जस्तै दमकमा यस बर्ष पनि महिलाहरूको प्रजनन स्वास्थ्य आङ खस्ने समस्या पाठेघरको मुखको क्यान्सर स्तन क्यान्सरको स्क्रिनिङ शिविरलाई पनि यो वर्ष निरन्तरता दिइने छ ।