दमक, ६ भदौ
झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारीले दोस्रो एकिकृत वस्ती निर्माण गर्ने भएको छ । यस अघि दमक ४ मा सहकारी संस्थाले एकिकृत आवास निर्माण गरि सदस्यहरुलाई हस्तान्तरण गरेको थियो ।
सदस्यहरूको माग र आवश्यकताका आधारमा क्षेत्र छनोट गरी एकीकृत बस्ती निर्माण गर्ने योजना रहेको मेची बहुद्देशिय सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए । यसअघि मेची सहकारीले दमकमा करिव २३ करोड रुपैयाँको लगानीमा एउटै प्रकृतिको ५० वटा घर निर्माण गरी आफ्ना सदस्यलाई हस्तान्तरण गरेको थियो । मेची सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेका अनुसार बजार मूल्यभन्दा करिब ४० प्रतिशत कममा सदस्यले एकीकृत बस्तीमा निर्माण गरिएका घर पाएका थिए । यस अघिको मोडल र अवधारणामा आवास निर्माणको दोस्रो परियोजना अगाडि बढाउन लागिएको बगालेले बताए । उनका अनुसार सदस्यको माग र आवश्यकताका आधारमा बस्ती निर्माण गरिने छ । सहकारीले बिर्तामोडमा आवास निर्माणलाई प्राथमिकतामा राखेको छ ।
चालु आर्थिक वर्षमा आवास निर्माणसम्बन्धी दोस्रो परियोजनाका लागि मेची सहकारीले ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस अघि ४३ लाख रुपैयाँ देखि ५२ लाख रुपैयाँ सम्ममा घर निर्माण गरि सहकारीले सदस्यलाई हस्तान्तरण गरेको थियो । एक बिगाह १६ कठ्ठा क्षेत्रफलमा सहकारी आवास निर्माण गरिएको थियो ।
सेयर गर्नुहोस्
६ भाद्र २०८१, बिहीबार १२:००