वडा अध्यक्ष नगेन्द्र भण्डारी पदेन अध्यक्ष
गौरादह, १५ साउन
सर्वाधिक आलोचित गौरादहको पोखरी पर्यटकीय समिति विकास समिति खारेज भएको छ । गौरादह नगरपालिकाले समिति खारेज गरि अर्को समिति गठन गरेको छ । पूर्व सांसद दिपक कार्कीको संयोजकत्वमा गठित समिति बिघटन गरेको हो ।
यस अघिका नगर प्रमुख रोहितकुमार शाह हुदा कार्कीको अध्यक्षतामा समिति गठन गरेको थियो । नगरपालिकाले जेठ १८ गते गौरादह पोखरी संरक्षण तथा पर्यटन विकास समिति कार्यविधि निर्माण गरि गौरादह १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीको संयोजकत्वमा समिति गठन गरेको हो । २०७५ साल माघ ५ गते गौरादह नगरपालिका कार्यापालिकाको बैठकले कार्कीको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको थियो । त्यसमा उपाध्यक्षमा बद्री कार्की, सचिव यादव सेडाइँ सहित छन् ।
सो समिति संस्था दर्ता ऐन २०७५ अनुसार नगरपालिकामा दर्ता भएको थियो । पोखरी समितिलाई नगरपालिकाले डिपीआर बनाउन १५ लाख, यस्तै २०७७ भदौ २१ को बैठकले १८ लाख रुपैयाँ बिनियोजन गरेको छ । नगरपालिकाका कर्मचारीले सिधै अनुदानका रुपमा रकम दिन अस्वीकार गरेपछी कार्यपालिका बैठक बसेर १५ लाख रुपैयाँ तुरुन्त भुक्तानी दिन निर्देशन समेत दिएको थियो । समिति बिवादित बने सँगै नगरपालिकाले कार्यविधि नै निर्माण गरेर वडा अध्यक्षको संयोजकत्वमा समिति बनाएको हो । त्यसमा वाणिज्य संघका अध्यक्ष पदेन सदस्य, कार्यपालिकाले तोकेका ३ महिला सहित ८ जना सदस्य र वडा सचिव सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था छ ।
कार्यविधि राजपत्रमा प्रकाशित भएसँगै पुरानो समिति स्वतः खारेज भएको छ ।