लाेक गायक एलपी जोशीको दाहसंस्कार आइतवार

सेयर गर्नुहोस्

दमक, ११ साउन
 लोक सम्राट एलपी जोशीको आइतवार दाहसंस्कार गरिने भएको छ । छोरा बुहारी लगायत परिवारजनका सदस्य युरोपियन मुलुकमा रहेका कारण आइतवार मात्र जोशीको दाहसंस्कार गरिने भएको हो ।

परिवारका सदस्य स्वदेश फर्किन समय लाग्ने भएका कारण आइतवार मात्र दाहसंस्कार गर्ने जानकारी प्राप्त भएको साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठले बताए । दाहसंस्कार कनकाई माइमा हुनेछ ।

झापाको दमकस्थित लाइफलाइन अस्पतालमा बिहीवार साँझ साढे आठ बजे जोशीको ८८ वर्षको उमेरमा निधन भएको थियो । कालजयी स्वरका धनी जोशीका सयौँ गीत नेपाली जनमानसमा लोकप्रिय छन् ।

साताअघि असार ३१ गते साहित्य चौतारी झापाले रजत वर्ष महाअभियानको अवसरमा लोक सम्राट जोशीलाई रथारोहणसहित नागरिक अभिनन्दन गरेको थियो । गायक जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीतहरु चर्चित छन् ।

१९९३ सालमा धनकुटा बजारमा जन्मिएका जोशीलाई जनस्तरबाट लोक सम्राटको उपाधि दिइएको थियो । गाउँबेसीका भाका टिपेर लय मिलाउन सक्ने उनको अदभूत क्षमता नयाँ पुस्ताका लागि पनि प्रेरणादायी छ ।

पूर्वेली लोक भाकामा गीत गाउँदै आएका जोशीको ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो । चित्रकार र अभिनेता समेत रहेका जोशीले चलचित्र ‘हिजो आज भोलि’मा पनि अभिनय गरेका छन् ।