गौरादहमा सार्वजानिक सुनुवाई सम्पन्न

सेयर गर्नुहोस्

गौरादह,१२ असार
गौरादह नगरपालिकाकाले चालु आर्थिक वर्षको सार्वजानिक सुनुवाई सम्पन्न गरेको छ । नगरपालिकाले एक वर्षमा गरेका गतिविधिको समिक्षा कार्यक्रममा गरिएको थियो ।
पूर्व न्युज मिडिया प्रालिको सहजीकरणमा सम्पन्न कार्यक्रममा वडा स्तरमा संकलन गरिएको नागरिक प्रतिवेदन पत्र र बर्हिगमित अभिमत प्रस्तुत गरिएको थियो । गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले चालु वर्षमा नगरपालिकाले गरेका कार्यको प्रस्तुतिकरण गरेका थिए । शाखागत रुपमा तयार गरिएको प्रतिवेदनलाई उनले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अधिकाशं नगरबासीले नदी नियन्त्रण डुबान नियन्त्रण र विकास निर्माण सँग सम्बन्धीत प्रश्न गरेका थिए । महालेखाको प्रतिवेदनलाई उल्लेख गर्दै प्रश्न गरिएको थियो । यस्तै बस्ति विकासका बिषयमा नगरपालिकाले नीति अनुसारको काम नगर्दा समस्या परेको विषय उठाइएको थियो ।
गौरादहमा कृषि अनुदानको वितरण निष्पक्ष नभएको बिषयमा सेवाग्राहीले प्रश्न गरेका थिए । यस्तै एउटै फर्म र ब्यक्तिले नियमित रुपमा अनुदान लिइएको उल्लेख गरिएको थियो । सडक निर्माणसँगै अन्य भौतिक पूर्वाधार गुणस्तरीय बनाउनका लागि नगरपालिकाको ध्यानाकर्षण सहभागीहरुले गराएका थिए । कृषि विकास शाखाका प्रमुख शिव न्यौपानेले निश्चित मापदण्ड अनुसारै लाभग्राहीहरुलाई सामान वितरण गरेको बताएका थिए । यस्तै अनुदानमा अनियमितता गरेको भेटिए कानुनी कारवाही गर्ने चेतावनी समेत दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत खतिवडाले नगरपालिका भित्र सुशासन कायम राखि सेवालाई सहज र सरल बनाउने प्रतिबद्धता जनाएका थिए ।
नगरपालिकाकी उपप्रमुख जलवर्षा राजंबशीले करका दायरा फराकिलो बनाउदै आन्तरिक आयलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएकी थिइन् । उनले नगर भित्रका विकास निर्माणका योजनालाई पारदर्शी र गुणस्तरीय बनाउन नगरपालिकासँगै नागरिकको निरन्तरको खबरदारी आवश्यक रहेको बताएका थिइन् । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले विकास निर्माणका योजनाहरु प्राथमिकिकरण गरि योजना कार्र्यान्वयन गरिने बताए । उनले वर्षोदेखि सञ्चालन हुन नसकेका योजनालाई यस पटक प्राथमिकता दिइएको उल्लेख गरे । नगरका सामुदायिक विद्यालयलाई सुधार गर्दै मुख्य आकर्षण सामुदायिक विद्यालयलाई बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा गौरादह १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी, २ का वडा अध्यक्ष गोपाल कोइराला, ३ का अध्यक्ष दिलिप भण्डारी, ४ का अध्यक्ष दुर्गामणि बस्नेत, ७ का अध्यक्ष बलराम खरेल, ८ का अध्यक्ष गणेश राजबंशी, ९ का अध्यक्ष उपेन्द्र निरौलाले सहभागीको जिज्ञासाको समाधान गरेका थिए ।