गौरादह, १० असार
गौरादह नगरपालिकाको आगामी आर्थिक वर्षका लागि बजेट पेश गरिएको छ । नगरपालिकाकी उपप्रमुख जलवर्षा राजबंशी चौधरीले ८४ करोड ३४ लाख २२ हजार २८२ रुपैयाँ बराबरको बजेट नगरसभाको चौधौ अधिवेशनको तेस्रो बैठकमा पेश गरेकी थिइन् ।
१२ करोड ५५ लाख ४८ हजार ९९० प्रशासनिक खर्च, कार्यक्रम खर्च ३८ करोड २० लाख ६० हजार र पुँजीगत तर्फ ३३ करोड ५८ लाख १३ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । नगरपालिकाले गरिब परिवारलाई माइक्रो इन्सोरेन्स र विपन्नलाई विद्युत मिटर उपलब्ध गराउने भएको छ । त्यसका लागि आवश्यक बजेट बिनियोजन गरिएको उपप्रमुख राजबंशीले जानकारी दिइन् । महारानीझोडाको जग्गाको अभिलेखीकरण र समस्या समाधानका लागि कर्मचारी व्यवस्थापन गर्न ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ । सिँचाई मोटरको विद्युत महसुलमा अनुदान दिने नगरपालिकाको नीति अनुसार ३ महिनाको विद्युत महसुलमा अनुदान दिने भएको छ । चैत, बैशाख र जेठ महिनाको विद्युत महसुलमा अनुदानका लागि २२ लाख रुपैयाँ छुट्याएको छ । यस्तै छोरी बुहारी स्नातक कार्यक्रमका लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको छ । प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई समेत अध्ययनमा सहयोग गर्ने गरि बजेट बिनियोजन गरेको नगरपालिकाले जनाएको छ ।