कमलको नीति कार्यक्रमः वडामै गर्भजाँच, सडक निर्माणमा जनसहभागीता अनिवार्य

सेयर गर्नुहोस्

झापा, ९ असार
झापाको कमल गाउँपालिका सभाको १५ औ अधिवेशन शुरु भएको छ । सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गर्ने छ । कमल गाउँपालिकाले आगामी आर्थिक वर्षमा समेत किसानलाई सिचाइँ मोटरको विद्युत विलमा अनुदान दिने भएको छ ।
आगामी वर्षको नीति कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष हुकुमासिंह राईले विद्युत मोटरको विलमा ५० प्रतिशत अनुदानको कार्यक्रम निरन्तरता दिइएको बताए । यस्तै कृषि सम्बन्धी प्राविधिक समस्या प्राविधिक मार्फत एकै दिन भित्र निदान गर्ने कार्यक्रम समेत ल्याएको छ । कमलले किसान पहिचानका लागि परिचयपत्रको व्यवस्था गर्ने नीति लिएको छ । खसी÷कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउनका लागि कार्यक्रम ल्याउने पालिकाको तयारी छ ।
कमल गाउँपालिकाले वडामा भिडियो एक्सरे राखेर गर्भवती महिलाको स्वास्थ्य परिक्षण गर्ने भएको छ । पोर्टवल भिडियो एक्सरे मेसिन मार्फत वडाका स्वास्थ्य संस्थाबाट मासिक एक पटक जाँच गर्ने नीति कमलले लिएको छ । निशुल्क एम्बुलेन्सको व्यवस्था यथावत राखि बच्चा जन्मिएको ७ दिन सम्म घरै स्वास्थ्य जाँच गर्ने व्यवस्था समेत मिलाइने राईले जानकारी दिए । यस वर्षदेखि कमल गाउँपालिकाले सडक निर्माणमा लागत सहभागीतको नीति अबलम्बन गर्ने भएको छ । अध्यक्ष राईले प्रस्तुत गरेको नीति कार्यक्रममा २० फिट भन्दा न्यूनतम चौडाई भएका सडकहरुको कालोपत्रे नगरिने नीति लिइने छ । सहरीकरण भै सकेकावस्ती बसी सकेका, सडक चौडा गर्न नमिल्ने स्थानमा २० फिट सम्मका सडकहरुलाई टायल ब्लक र कालोपत्रे सडक निर्माण कार्यलाई प्राथमिकता दिइने उल्लेख छ । यस्तै यस्तो कार्यमा उपभोक्ताले अनिवार्य रुपमा ३० प्रतिशत लागत साझेदारी (ठेक्का मार्फत गर्दा समेत) व्यहोर्नु पर्ने व्यवस्था मिलाइने र ड्रेन सहित २० फिटे भन्दा बढीका सडकमा मात्र स्तरोन्नती गरिने यस अघिको व्यवस्थालाई निरन्तरता दिइने छ भनेर भनिएको छ ।
सभामा गाउँपालिकाकी अध्यक्ष प्रमिला न्यौपाने तिवारीले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि बजेट पेश गरेकी थिइन् । कुल ७१ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँको आगामी वर्षको बजेट प्रस्तुत गरेकी थिइन् ।