गौरादह, ७ असार
झापाको गौरादह नगरपालिकाले कृषकको सिचाइँका लागि मोटरको विद्युत महसुलमा अनुदान दिने भएको छ । यस्तै मोटर जोड्नका लागि जडान खर्च समेतमा सहुलियत दिने भएको छ । आज गौरादह नगरपालिकाको चौधौ नगर सभामा पेस भएको नीति तथा कार्यक्रममा किसानलाई सिचाईको मोटरको विद्युत विलमा अनुदान दिने उल्लेख गरिएको छ । नगरप्रमुख छत्रपति सुवेदीले सभामा पेस गरेको कार्यक्रममा गौरादहलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि कृषकलाई माछापालन तालिम र भूरा वितरण कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
नगरप्रमुख सुवेदीले विपन्न परिवारका लागि माइक्रो इन्सोरेन्स गर्ने कार्यक्रम अघि सारेका छन् । उनका अनुसार यस वर्ष ५ सय जना विपन्न परिवारलाई दुर्घटना बिमा गराइने छ । त्यसका लागि सबै रकम नगरपालिकाले ब्यहोर्ने छ । यस्तै छोरी बुहारी निशुल्क स्नातक कार्यक्रमलाई निरन्तरता दिने भएको छ भने प्राविधिक बिषय अध्ययन गर्ने गौरादहका विद्यार्थीलाई अनुदान कार्यक्रम निरन्तर रहने भएको छ । यसैगरि एइईमा अंग्रेजी, गणित र विज्ञान बिषयको अतिरिक्त कक्षा सञ्चालनका लागि समेत सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति नगरपालिकाले लिएको छ । घरै हुने प्रसूतिलाई शून्य बनाउनका लागि गौरादह नगर अस्पतालमा बर्थिङ सेन्टरलाई थप प्रभावकारी बनाउदै निशुल्क एम्बूलेन्स सञ्चालन यथावत रहने जनाइएको छ । स्वास्थ्य स्वयंसेविकाको सेवालाई थप प्रभावकारी बनाउनका लागि साइकल वितरण गर्ने योजना नगरपालिकाको छ । विद्यालय भर्नामा खोप कार्ड अनिवार्य गर्दै दुब्र्यसनीबाट जोगाउन अभियान सञ्चालन गर्ने नीति लिएको छ ।
(पूर्णपाठ सहित)
सेयर गर्नुहोस्
८ असार २०८१, शुक्रबार २१:०३