प्रदेश बजेटः गौरादह पोखरीलाई ४ करोड,केही वडा भने रित्तै

सेयर गर्नुहोस्

गौरादह, ६ असार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस पटक पनि गौरादहको पोखरीका लागि ४ करोड रुपैयाँ बिनियोजन गरेका छन । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि जेठ ३२ गते प्रदेश सभामा बजेट पेश भएको हो । पोखरीका लागि चालु आर्थिक वर्षमा ४ करोड र अघिल्लो समिति हुँदा पर्यटन विकास आयोेजना मार्फत ५६ लाख रुपैयाँ खर्च भएको छ । प्रदेशको रातो किताबमा उल्लेख भए अनुसार यो पटक गौरादहमा १ लाख देखि ४ करोड सम्मका योजना सञ्चालन हुने छन् ।
गौरादह उद्योग वाणिज्य संघको भवन बनाउन ५० लाख, निलगिरी हाउजिङको सडक निर्माणमा २५ लाख, कर्भड हल मर्मतमा १० लाख, गौरादह खानेपानीका लागि १२ लाख, वडा नम्बर १ मा ट्युबेल गाड्न १२ लाख रुपैयाँ प्रदेश सरकारले बिनियोजन गरेको छ । यस्तै किष्णे खोला, चाँजु खोला तटबन्ध एक÷एक लाख रुपैयाँ छुट्टिएका छन् । त्यस बाहेक हिमाल चौकदेखि हाँसखोरा सडक कालोपत्रेका लागि ६५ लाख र वडा नम्बर १ अर्जुनदेव राईको घरदेखि डिठ्ठा चौक सम्मको सडकका लागि ६५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।
वडा नम्बर ६ को राधाकृष्ण सामुदायिक हलका लागि ५ लाख र वडा नम्बर ४ को नविन थापा डोरामारी सडकका लागि २० लाख, वडा नम्बर ४ को ज्येष्ठ नागरिक चौतारा घेराबेराका लागि २ लाख ५० हजार, वडा नम्बर ८ को नरिवल गाछी सडकलाई २० लाख बिनियोजन गरिएको छ । यस बाहेक नदी नियन्त्रण र सिचाई योजनाका लागि पुरानै योजना कायम भएका छन् । गौरादहको ४, ५, ६ र ८ मा भने मुस्किकले एउटा योजना मात्रै परेको देखिन्छ । कार्कीले मुख्य आवश्यकता भन्दा टुक्रे बजेट बिनियोजन गरेको भनेर आलोचना समेत शुरु भएको छ । यस्तै बजार क्षेत्रमा मात्रै बजेट पारेर गाउँको उपेक्षा गरेको आरोप उनी माथि छ ।