पूर्वाधार निर्माणसँगै अवसर बढ्छन् –ओली

सेयर गर्नुहोस्

दमक, ९ जेठ
नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अब पूर्वाधार विकास भएसँगै अवसर समेत बढ्ने बताएका छन् । उनले बिदेशमा देखिएका राम्रा सडक अब नेपालमै देख्न पाइने उल्लेख गरे ।
बुधबार झापाको कमल गाउँपालिका—५ स्थित पाडाजुङ्गीमा एशियन हाइवेमा पर्ने पूर्व पश्चिम राजमार्ग काँकरभिट्टा—लौकही सडक खण्डको स्तरोन्नती कार्यक्रमको शिलान्यासमा ओलीले हामीले पूर्वाधार विकास सँगै रोजगारी बढ्ने बताए । ‘नसडकले भात खान दिन्छ, नत शिक्षा र स्वास्थ्यले नै नत विद्युतले दिन्छ न त सञ्चारले नै ’ओलीले भने, —‘भात खान नदिए पनि यी पूर्वाधारले भात खाने अवस्था र अवसर चाँहि सिर्जना गर्छन । ’ हरेक विकासका पूर्वाधारले उत्पादन र रोजगारीसँग जोड्ने भएकाले हरेक क्षेत्रका पूर्वाधारलाई विकाश र उद्यमशीलतासँग जोड्नुपर्ने ओलीको भनाइ थियो ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सम्झौता भए अनुसारको समयमै शुरु भएर सम्झौतामा उल्लेख भएर अनुसारकै समयमा सकिने स्पष्ट पारे । उनले १ सय २० किलो मिटर लम्बाई मध्ये ९५ दशमलव ७६ किलो मिटर सडकको स्तरोन्नतिका लागि एडीबीको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा स्तरोन्नति गरिने जानकारी दिए ।
एडीबी र नेपाल सरकारबीच ७ जुलाई २०२३ मा ऋण सम्झौता र ३१ डिसेम्बर २०२९ मा ऋण सम्झौता समाप्त हुने छ । काँकरभिट्टा केरखा ४५ किलो मिटर स्तरन्नतिका लागि दमकमा रहने गरी पूर्वी खण्डको योजना कार्यालय स्थापना गरिएको छ भने केरखा इटहरी खण्ड ५० दशमलव ७६ किलो मिटर खण्ड स्तरोन्न्तिका लागि इटहरीमा पश्चिम खण्डको योजना कार्यालय स्थापना गरिएको बताईएको छ । कुल ९५ दशमलव ७६ किलोमिटर सडकलाई तीन वटा प्याकेजमा विभाजन गरिएको छ ।
३ सय मिटरभन्दा लामा ६ वटा पुलहरुलाई २ वटा प्याकेजमा विभाजन गरिएको र विशेष आकारका आर्कषक पुलको रुपमा डिजाईन गरिएको बताईएको छ । २०८० कात्तिक २ गते सवै ठेक्काको सम्झौता गरिएको, २०८० माघ १९मा काम शुरु गरेर २०८३ माघ १९ मा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । सवै ठेक्काको निर्माण अवधि ३ वर्ष राखिएको, निर्माण सम्पन्न पछि पनि थप ६ वर्षसम्म मर्मत सम्भार कार्य सोही निर्माण कम्पनीबाटै गराउने व्यवस्था गरिएको छ ।