सरकारले खेलकुदलाई महत्वका साथ हेरेको छ : मुख्यमन्त्री कार्की

सेयर गर्नुहोस्

दमक, ११ फागुन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्वका साथ हेरेको बताएका छन् ।

आज दमकमा नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आयोजना गरेको भलिवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार स्थापनाको पहिलो वर्षमा नै उच्च महत्वका साथ खेलकुद ऐन ल्याएर खेलकुद विकास बोर्ड गठन गरिएको बताए । खेलकुद विकास बोर्डको माध्यमबाट खेलकुदका प्रतियोगिता र खेलकुदको विकास र खेलकुदका संरचनाहरु बनाउने काम भइरहेको उनले जानकारी दिए ।

नेपालमा खेलकुदका संरचनाहरु कम रहेका र भएका संरचना पनि स्तरीय नहुँदा विश्व खेलकुद जगतमा अपेक्षाकृत सफलता पाउन नसकेको मुख्यमन्त्री कार्कीले भने- भविष्य नदेखेर खेलाडीहरु पलायान भइरहेको नजिकबाट हेरेर त्यसलाई पनि समाधान गर्ने गरी काम अघि बढाइएको छ । खेलाडीहरुको वृत्ति विकास गर्न र खेलाडीहरुको जीवन निर्वाहको कुरा खेलकुदको विकाससँग सँगै गर्नु पर्ने उनले उल्लेख गरे । मुख्यमन्त्री कार्कीले राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेलको विकास गर्न प्रदेशमा इन्डोर प्रतियोगता गर्ने गरी संरचना तयार गरिने बताए । कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराइ, प्रदेश खेलकुद बाेर्डका सदस्य सचिव पर्शुराम बस्नेतले समेत धारणा राखेका थिए । फागुन ११ देखि १५ गतेसम्म प्रतियाेगीता सञ्चालन हुने छ । प्रतियाेगीताकाे उत्कृष्ट हुने टिमले नगद ५ लाख रूपैयाँ प्राप्त गर्ने छ ।