साउन १ देखि जोगवनीमा अनिवार्य भन्सार

सेयर गर्नुहोस्

विराटनगर, असार ३१
कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगर महानगरपालिकाले भोलि (साउन १) बाट भारतीय बजार जोगवनी जान कडाइ गर्ने भएको छ । भारतीय बजारमा किनिएका मालसामानको भन्सार पास नगरी नेपाल भित्र्याउन नदिन जोगवनी भन्सार नाकामा कडाइ गर्न लागिएको हो ।

घरायशी प्रयोजनका लागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता जोगवनी बजारमा किनमेल गर्न जाने गरेका छन् । नेपाली बजारमा भन्दा भारतीय बजारमा सस्तो मूल्यमा सामान पाइने भएकाले नेपालीहरु जोगवनी जाने गरेका छन् ।

उनीहरूले बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार अर्थात विराटनगरका व्यापारी प्रभावित भएको भन्दै महानगरपालिले सीमा नाकामा कडाइ गर्न लागेको हो ।

विराटनगरका मेयर नागेश कोइरालाले महानगरबासीहरुले अत्यधिकरुपमा भारतीय बजार जाँदा विराटनगरको बजार सुक्दै गएका कारण स्थानीय व्यापार प्रवद्र्धनका लागि भन्सारमा कडाइ गर्न लागिएको जानकारी दिए ।

यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट दिइएको थियो । तर, लामिछाने पदमुक्त भएसँगै उक्त नियम कार्यान्वयन भएको छैन् ।

मेयर कोइरालाका अनुसार अब हरेक सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने छ । उनले जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न महानगरबासीलाई अपिलसमेत गरेका छन् । ‘विराटनगरबासीहरु सस्तो सामान पाइन्छ भनेर जोगवनी गएको देखिन्छ,’ उनले भने, ‘अब जोगवनी जाने काम बन्द गरिदिनुहोस्, विराटनगरकै व्यापारीलाई सहयोग गरौँ ।’

जोगवनीमा गएर सामान किनेर विराटनगरका व्यापारीलाई प्रवद्र्धन नगर्ने गरी, यहाँको बजार सुकाउने गरी कार्य भए राम्रो नहुने उनको भनाइ छ । जुनसुकै सामान जोगबनी नाकाबाट खरिद गरे भन्सार नतिरी विराटनगर भित्रिन नदिने उनले बताए ।