गौरादह, २९ फागुन
गौरादह नगरपालिकाले प्रतिष्पर्धाबाट प्रध्यानाध्यापक नियुक्तिको प्रकृया शुरु गरेको छ । नगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई विद्यालय विकास सम्बन्धि प्रस्ताव माग गरि प्रध्यानाध्यापक नियुक्ति गर्न निर्देशन दिएको छ ।
नगरपालिकाको माध्यामिक तह सम्मको शिक्षा ऐन २०७९ को परिच्छेद ९ र गौरादह नगरपालिकाका सामुदायिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति सम्बन्धी कार्यविधि २०८० अनुसार नयाँ प्रध्यानाध्यापक नियुक्त गर्न निर्देशन दिइएको हो । त्यसका लागि कार्यविधिले तोके अनुसारको परिक्षा हुने छ । उम्मेद्वारले विद्यालय विकासको प्रस्तावको ढाँचा कार्यविधिले तोके अनुसारको हुने छ ।
प्रध्यानाध्यापकका लागि उम्मेद्वारले भौतिक व्यवस्थापन, विद्यालय व्यवस्थापन र सफाई, शैक्षिक पक्ष, विद्यालय समुदाय सम्बन्ध, स्रोत परिचालन, अतिरिक्त क्रियाकलाप सम्बन्धी प्रस्ताव पेश गर्नुपर्ने छ । यस्तै विश्लेषणका आधारमा देखिएका समस्या समाधानका लागि प्राथमिकिरण, विद्यालयको अवस्था सुधार गर्न अबलम्बन गरिने मुख्य रणनीतिहरु र विद्यालय विकास प्रस्तावको कार्यान्वयन कार्ययोजना समेत पेश गर्नुपर्ने छ । यसको अंक भार ३० रहने छ ।
यसैगरि शैक्षिक योग्यता, कार्यअनुभव, तालिम, बरिष्ठतालाई समेत गणना गरिने छ । प्रध्यानाध्यापक हुन शिक्षकको विषय अनुसार विद्यार्थीले प्राप्त गरेको अंकलाई समेत मुल्यांकनको आधार बनाइएको छ । विद्यालयको अन्तिम परिक्षामा विद्यार्थीले ल्याउने अंकलाई समेत प्रध्यानाध्यापक नियुक्तिका लागि अंक भार तोकिएको छ । यसमा कुल १५ अंक प्राप्त हुने छ ।
नगरपालिकाले आउदो शैक्षिक सत्र सम्ममा सबै विद्यालयमा प्रध्यानाध्यापक नियुक्त गरि जानकारी दिन भनेको छ । प्रध्यानाध्यापक हुन भने राजनीतिक दलको सदस्यता त्याग्नुपर्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ ।
सेयर गर्नुहोस्
२९ फाल्गुन २०८०, मंगलवार १७:३७