झापा, २३ माघ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरूले उद्यमशिल भएर अघि बढ्नुपर्ने बताएका छन् ।
आज शिवसताक्षी नगरपालिका ४ मा झापा इनर्जी लिमिलेडले निर्माण गरेको १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजनाको उद्घाटन गर्दै अध्यक्ष ओलीले युवाहरुले जागिरे भन्दा पनि उद्यमशिल प्रवृत्ति अपनाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले भने,– ‘आज आम रुपमा युवाहरुमा जागिरे प्रवृत्ति विकास भएको देखिन्छ, हामीले जागिरे प्रवृत्ति होइन उद्यमशिलताको प्रवृत्ति अपनाउनुपर्छ, आफैं उद्यमि हुने, सानाठूला उद्यमहरु आफैंले स्थापना र सञ्चालन गर्ने, आफैं नसके अरु साथीभाइसँग मिलेर चलाउने, झापा इनर्जी मिलेर चलाएको पाएँ, यो राम्रो कुरा हो।’
झापा र कोशीसँगै देशको विकासका लागि सो परियोजना अत्यन्तै महत्वपूर्ण रहेको र यो परियोजना कोशीको सबैभन्दा ठूलो र देशका ठूला सौर्य परियोजनाहरुमध्येको एक परियोजना भएको अध्यक्ष ओलीले बताए । उद्यमशिलताको प्रवर्द्धन र देशको विकासमा सो परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।
पानी मात्र नभएर हावा र सूर्यबाट पनि बिजुली निकाल्न सकिने बताउदै उनले भने– म प्रधानमन्त्री भएका बेला हाइड्रो इनर्जीको अवधारणा ल्याएको थिए र अहिले हाल काठमाडौं विश्वविद्यालयले यसको अनुसन्धान गरिरहेको छ ।