गौरादहको स्वास्थ्य शिविरमा बिरामीको भीड, एघार सय जनाको स्वास्थ्य परिक्षण

सेयर गर्नुहोस्

गौरादह, १९ माघ
झापाको गौरादह नगर अस्पतालमा भएको निशुल्क स्वास्थ्य शिविरमा बिरामीको चाप थेगिसक्नु थिएन । गौरादहका बजारी क्षेत्र मात्रै नभइ गाउँसम्मबाट स्वास्थ्य सेवा लिन स्थानीयहरु आएका थिए । नोबल अस्पताल विराटनगरको प्राविधिक सहयोगमा बिशेषज्ञ चिकित्सक सहितको शिविरमा एक हजार ११ सय ५९ जनाले सेवा लिएका थिए । शिविरमा स्वास्थ्य परिक्षण सँगै आँखाको जाँच गरिएको थियो । ६७३ महिला र ४८३ पुरुषले स्वास्थ्य सेवा लिएका थिए ।
गौरादह नगरपालिकाको आयोजनामा भएको शिविरमा शिविर सम्म आउन नसक्ने बिरामीलाई नगरपालिकाकै सवारी साधनमा ल्याइएको थियो । १६ जना बिशेषज्ञ चिकित्सक सहितको टोलीले मुटु रोग, छाला रोग, मृगौला रोग, नाक कान घाँटी, महिला रोग,जनरल मेडिसिनका सेवा दिएका थिए । गौरादह नगरपालिकाका स्वास्थ्य संहसंयोजक गोविन्द श्रेष्ठका अनुसार नोबल अस्पतालका निर्देशक तथा मुटु रोग विशेषज्ञ राजेश नेपाल सहितका चिकित्सकले स्वास्थ्य सेवा दिएका थिए । शिविरमा प्रयोगशाला सेवा, भिडियो एक्सरे, इकोकार्डियोग्राम, इसिजी, र औषधी समेत निशुल्क गरिएको थियो ।


यस्तै बिर्ताज्योति आँखा अस्पतालले समेत निशुल्क आँखा परिक्षण गरेको थियो । अस्पतालका कर्ण योगी नेतृत्वको टोलीले ३८ जनामा मोतियाबिन्दु देखिएको पत्ता लगाएका थिए । उनीहरुको निशुल्क शल्यक्रिया हुने छ ।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले सहजै र सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरि नगरपालिकाले काम अघि बढाएको बताए । उनले नगर अस्पतालमा दिनहुँ बिशेषज्ञ चिकित्सकले सेवा दिइरहेको बताए । सुुवेदीका अनुसार नगर अस्पतालमै हाड जोर्नी, प्रसूति, बाल रोग सहितका चिकित्सकले सेवा दिइरहेको बताए ।


शिविरको उद्घाटनमा पूर्व सांसद दिपक कार्की, नगरपालिका उपप्रमुख जलवर्षा राजबंशीको समेत उपस्थिति रहेको थियो ।