चालु खर्च कटौति गरेर गौरादहमा ४३ नयाँ योजना (सूची सहित)

सेयर गर्नुहोस्

युवराज विवश
गौरादह, ९ माघ
झापाको गौरादह नगरपालिकाको तेह्रो नगरसभाले चालु खर्च कटौति गरेर नयाँ योजना सञ्चालन गर्ने भएको छ । नगरपालिकाले यसै वर्ष सञ्चालन गर्ने भनिएका २८ वटा योजनाबाट बजेट कटेर नयाँ संरचना निर्माणमा खर्च गर्ने भएको हो ।
कुल १ करोड ६३ लाख ६० हजार रुपैयाँबाट ४३ वटा नयाँ योजना सञ्चालन हुदैछन् । नगरपालिकाको नगर सभाले पोशाक शिर्षकमा १० लाख रुपैयाँ कटौति गरेको छ । यस्तै पदाधिकारी बैठक भत्तामा १५ लाख, पदाधिकारी इन्धनमा ३ लाख, इन्धन कार्यालय प्रयोजनाका लागि छुट्याइएको रकमबाट ५ लाख रुपैयाँ, पत्रपत्रिका, सुचना र छपाइमा १० लाख, फोहोर मैला व्यवस्थापनमा १८ लाख ५० हजार रुपैयाँ घटाइएको छ । नगर सभाले सडक, पुल, कल्भर्ट निर्माणमा रकम बिनियोजन गरेको छ । यस्तै बिभिन्न मठ मन्दिरका भौतिक संरचना निर्माणका लागि ३१ लाख ७५ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनप्रतिनिधिको भत्ता कटौति गरि विकास निर्माणका योजनाहरु थप गरिएको बताए । उनका अनुसार अब जनप्रतिनिधिले एउटा मात्रै बैठक भत्ता मासिक रुपमा पाउछन् । नगरबासीको सुझावका आधारमा चालु खर्च कटौति गरि थप नयाँ योजना सञ्चालन गरिएको नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिए । आजको नगर सभाले उपप्रमुख जलवर्षा राजबंशीले पेश गरेको यो प्रस्तावलाई सर्वसम्मतले पारित समेत गरेको छ ।