अब गौरादह नगर अस्पतालमा हरेक दिन बिशेषज्ञ सेवा

सेयर गर्नुहोस्

गौरादह, २३ पुस
झापाको गौरादह नगर अस्पतालमा अब हरेक दिन बिशेषज्ञ चिकित्सकले सेवा दिने भएका छन् । बाल रोग, हाड जोर्नी, सर्जन, महिला तथा स्त्री रोगका चिकित्सकले नगर अस्पतालमै सेवा दिने भएका हुन् ।
गोदाबारी अस्पताल र गौरादह नगरपालिका विच सम्झौता अनुसार अब यी चिकित्सकले सेवा दिने छन् । आज गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी र अस्पतालका अध्यक्ष डा. सूर्यनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमति अनुसार अब साताको दुई दिन बाल रोग सम्बन्धी चिकित्सक, जनरल मेडिसिन सम्बन्धी चिकित्सकले सेवा दिने छन् । यसै गरि साताको एक पटक सर्जन, महिनामा २ पटक स्त्रीरोग बिशेषज्ञ, एक पटक हाड जोर्नि बिशेषज्ञले बिरामी जाँच्ने छन् । यी चिकित्सकहरु गोदाबारी अस्पतालले उपलब्ध गराउने छ । यसै गरि सबै प्रकारको ल्याब परिक्षण समेत गौरादह नगर अस्पतालबाटै गर्न सकिने छ । रगतको नमुना लिएर हरेक दिन गोदाबारी अस्पताल पठाइने छ । रिपाेर्ट भने नगर अस्पतालबाटै पाइने छ । नगर अस्पतालमा नहुने जाँच उर्लाबारी गोदाबारी अस्पतालमा गर्ने सहमति भएको छ । अब साना तिना अप्रेसन पनि नगर अस्पतालमा गर्न सकिने जनाइएको छ ।
गौरादहका नगर प्रमुख सुवेदीले नगर अस्पतालमै बिशेषज्ञ चिकित्सकले सेवा दिने भएपछी अन्यत्र जानुपर्ने बाध्यता घट्दै जाने विश्वास ब्यक्त गरे । उनका अनुसार अब भिडियो एक्सरे मेसिनका लागि समेत चिकित्सक उपलब्ध गराउने समझदारी भएको छ । गोदाबारी अस्पतालका अध्यक्ष डा. शाहले बिरामी जाँच वापतको शुल्क चिकित्सकलाई नगरपालिकाले उपलब्ध गराउने सहमति भएको बताए । उनले गौरादहमा विशेषज्ञ चिकित्सकले अब हरेक दिन जसो स्वास्थ्य जाँच गर्ने उल्लेख गरे ।
गौरादह नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएसँगै बिरामीको चाप समेत बढेको छ ।